Kathmandu Press

वैद्यखानाका कर्मचारीले पाएनन् तीन महिनादेखि तलब

समितिका निमित्त कार्यकारी निर्देशक डा. यादव कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको बताउँछन्।
वैद्यखानाका कर्मचारीले पाएनन् तीन महिनादेखि तलब

काठमाडौं, वैशाख ३१ : आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।

आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन्। तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।

निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्या पनि आएको कर्मचारी बताउँछन्। कार्यकारी निर्देशक यादव वैशाख ३ गतेदेखि नै बिहान एकपटक विद्युतीय हाजिर गरेर हिँड्ने गरेको गुनासो कर्मचारीको छ।

समितिका प्रशासन शाखा प्रमुख रुन्धाता कोइराला विद्युतीय हाजिर ‘फेस रिडर’ को लिंकसमेत निमित्त कार्यकारी निर्देशक यादवले आफ्नै कार्यकक्षमा थुनेर हिँडेको बताउँछन्।

‘कर्मचारीको बिदालगायत अभिलेख पनि निमित्त कार्यकारी निर्देशककै कार्यकक्षमा छ, शनिबारदेखि कार्यालयमा कार्यरत माली सानीमाया लामाको अनिवार्य अवकाश भयो, टिप्पणी तयार छ, निमित्त कार्यकारी निर्देशक हाजिरमा अनुहार देखाएर हिँड्ने गरेकाले कसैलाई स्वीकृत गराउन पाएको छैन,’ उनले भने, ‘यस्ता नियमित काम र समस्या कार्यालयमा धेरै छन्, समस्या समाधानतिर निमित्त कार्यकारी निर्देशकको ध्यान गएको छैन।’

तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रुपमा कार्यरत आदित्य ठाकुरलाई घरखर्च चलाउन मुस्किल भएको छ। समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको हो। समितिमा लामो समयदेखि कार्यालय प्रमुखको विवाद हुँदै आएको छ।

मन्त्रालयका सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाइँले वैद्यखानाका विषयमा बेवास्ता गर्दा संस्थामा धेरै समस्या आउन थालेको बताइएको छ। लामो समयदेखि समितिका कर्मचारीले पनि गठन आदेश बमोजिम ११औँ तहको कार्यकारी निर्देशक नियुक्ति गर्न माग गर्दै आएका छन्। निमित्त दिनेभए समितिकै वरिष्ठ कर्मचारीलाई दिनुपर्ने अधिकांश कर्मचारीको माग  ।

समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि वैद्यखानामा विवाद हुँदै आएको छ। समितिका निमित्त कार्यकारी निर्देशक डा. यादव कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको बताउँछन्।

‘शिलाजीत र च्यवनप्राश बनाएर १० लाख पैसा जम्मा भएकाले केही दिनमा तलब खुवाउने तयारीमा छ, मन्त्रालयले पनि कारखानाले आफैँ कमाएर खानुपर्छ भनेको छ, समितिका कर्मचारीले भने काम गर्न मन नै लगाएका छैनन्’, निमित्त कार्यकारी निर्देशक यादवले भने।

२०७९ असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएदेखि नै उनी विवादमा छन्। असोजअघि पनि समितिका कर्मचारीले तीन महिनाको तलब एकैपटक पाएका थिए। त्यसबेला डा. श्यामबाबु यादव निमित्त कार्यालय प्रमुख भएर आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा कर्मचारीले त्यसबेला तलब पाएका थिए।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्