उद्धार गरिएका पुष्पा र अञ्जलीलाई जंगलमा छाडियो
निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैंडालाई तामिताल पुर्याएर छाडिएको छ।
चितवन, वैशाख ३१ : चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैंडाका बच्चा (केटो)लाई जंगलमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैंडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो।
निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैंडालाई तामिताल पुर्याएर छाडिएको छ।
निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो।
श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२०को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो। एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिकरुपमा छाडिएको उनले बताए।
पुष्पा र अञ्जलीलाई यतिबेला प्राकृतिकरुपमा घाँस खोजेर खानसक्ने भएका छन्। उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिँदै आएको छ।











