१५ बुँदे मागसहित कांग्रेस सांसद गौतम आमरण अनशनमा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गौतम १५ सुत्रीय माग राख्दै शनिबार बेलुकीबाट जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशनमा सुरु गरेका हुन् ।
काठमाडौं, वैशाख ३१ : सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले आमरण अनशन सुरु गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गौतम १५ सुत्रीय माग राख्दै शनिबार बेलुकीबाट जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशनमा सुरु गरेका हुन् । बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायत मागसहित उनी अनशन बसेका हुन् ।
सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो । यस्तै सांसद गौतमले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरुमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग पनि राखेका छन् ।
गौतम बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।












