Kathmandu Press

'प्रधानमन्त्रीले निर्देशन दिँदैमा बैंकको व्याजदर घट्दैन'

काठमाडौं, फागुन ५ : बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले प्रधानमन्त्रीले निर्देशन दिदैंमा बैंकहरुले व्याजदर घटाउन सक्ने अवस्था नरहेको बताएका छन् ....

'प्रधानमन्त्रीले निर्देशन दिँदैमा बैंकको व्याजदर घट्दैन'

काठमाडौं, फागुन ५ : बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले प्रधानमन्त्रीले निर्देशन दिदैंमा बैंकहरुले व्याजदर घटाउन सक्ने अवस्था नरहेको बताएका छन् । 

शनिबार उद्योग बाणिञ्य महासंघका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री र गर्भरनरलाई निर्देशन दिंदै बैंकको व्याज घटाउन निर्देशन दिएको भोलिपल्टै बैंकर संघले निर्देशनको आधारमा व्याज घटाउन नसकिने प्रतिक्रिया दिएको हो । 

‘उद्योगीको दबावमा प्रधानमन्त्रीले अर्थमन्त्री र गर्भनरलाई व्याज दर घटाउन निर्देशन दिएको भन्ने समाचारबाट सुनेको छु, बैंकको व्याज कसैले निर्देशन दिएर घट्दैन, बजारले निर्धारण गर्ने हो,’ ढुंगानाले काठमाडौं प्रेससँग भने ।  

Hardik ivf

उद्योगी/व्यापारीहरुले बैंकको व्याज बढेकाले समस्या परेको भन्दै प्रधानमन्त्रीलाई गुहारेका थिए । उनीहरुको कुरा सुनेलगत्तै प्रधानमन्त्रीले अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपाललाई सँगै राखेर व्याजदर घटाउन निर्देशन दिएका थिए  । 

नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको व्याजदरको विषयलाई लिएर प्रधानमन्त्री गुहारेको विषयमा बैंकहरुले आपत्तिसमेत जनाएका छन् । खुला बजार अर्थतन्त्रका पक्षपाती व्यवसायीहरुनै बजार हस्तक्षेपका लागि प्रधानमन्त्रीलाई भन्न जानु राजनीतिकबाहेक केही नभएको आरोपसमेत ढुंगानाले लगाए र भने, ‘व्याजदर घटाउन आन्दोलन गर्नु दुर्भाग्यपूर्ण हो, अहिलेको अवस्थामा व्याजदर घट्दैन,’ अध्यक्ष ढुंगानाले भने । अहिले बैंकहरुले रिर्टन १० देखि १२ प्रतिशत मात्रै दिएको बताउँदै ढुंगानाले व्यवसायीहरुले भने जस्तो अत्याधिक नाफा नभएको समेत बताए । 

बैंक तथा वित्तीय संस्थाहरूले लिने चर्को व्याजका कारण नीजि क्षेत्रलाई परेको समस्या र समाधानका लागि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा एक प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूलाई भेटेको थियो । 

बालुवाटारमा प्रधानमन्त्री ओली, अर्थमन्त्री खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, राष्ट्र बैंकका गभर्नर नेपाललगायत सरकारका उच्च पदाधिकारीहसँग छलफल गरी सुझाव पेश गरेको महासंघले जनाएको छ । 

महासंघका अध्यक्ष राणाले सरकारले ल्याएको ५ लाखलाई रोजगारी सिर्जना गर्न समेत व्याजदर बाधक भएको प्रधानमन्त्रीलाई बताएकी थिइन् । व्यवसायीहरुले उत्पादनमूलक उद्योगीहरुले प्रवाह गरेको ऋणमा अधिकतम् ७ प्रतिशतसम्म र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतको थ्रेसहोल्ड राखेर व्याजदर कायम गर्न, बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरुमा सरल तरिकाले लगानी गर्ने व्यवस्था गर्न माग गर्दै आएका छन् । 

महासंघले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विकास बजेट तीब्र गतिमा खर्च गर्ने व्यवस्था गर्नुपर्ने, तत्कालको लागि सीसीडी रेसियोमा लचकता अपनाई ८० प्रतिशतबाट ९० प्रतिशत कायम गर्नुपर्ने, स्प्रेड दर अधिकतम ३ प्रतिशतमा नबढाई कायम गरिनुपर्ने, संस्थागत निक्षेपमा व्याज बढीमा २ प्रतिशतसम्म कायम गर्नुपर्ने लगायत सुझाव पनि प्रस्तुत गरेको छ ।

यता सोमबार अर्थमन्त्री खतिवडाले सबै सरोकारवालाहरुलाई छलफलमा बोलाएका छन् । ‘सोमबार अर्थमन्त्रीज्यूले बोलाउनु भएकोले बैंकरहरुको कुरा त्यही छलफलमा राख्नेछौं,’ अध्यक्ष ढुंगानाले भने ।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, फागुन ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्