‘नागरिकले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्’
उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भई कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रूपमा छानबिन हुनेमा शंका रहेको बताए।
काठमाडौं, वैशाख ३० : नागरिकले खबरदारी गरिरहे भ्रष्टहरू कुनै हालतमा नछुट्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन्।
शनिबार नक्सालमा आयोजित भ्रष्टचारविरुद्धको आन्दोलनमा सहभागी भएका डा. भट्टराईले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले भने, ‘आफू अपराध गरेको छैन भने भाग्नु पर्दैन, भागेपछि बेठीक भयो। सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ। हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्। हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ।’
बहुमतको स्थिर सरकार नभएकाले नक्कली भुटानी शरणार्थी प्रकणमाा निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको उनले बताए।
उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भई कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष छानबिन हुनेमा शंका रहेको बताए।
‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कमद चाल्न सक्दैन। आशंका छ। राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटी छ,’ डा. भट्टराईले भने।











