रास्वपाले भन्यो– पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैन
पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले प्रेस विज्ञप्ति जारी गर्दै राईले किशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाएका छन्।
काठमाडौं, वैशाख ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ।
पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले प्रेस विज्ञप्ति जारी गर्दै राईले किशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाएका छन्। पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो,’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक नभएकाे पनि विज्ञप्तिमा उल्लेख छ। सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको रास्वपाले जनाएकाे छ।
यसैगरी राईले किशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको र निजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने पनि रास्वपाले माग गरेको छ।











