स्याङ्जाको पुतलीबजारले नगरलाई सुन्दर बनाउन गर्यो महत्वपूर्ण निर्णय
सिद्धार्थ राजमार्गभित्र पर्ने पुतलीबजारका मुख्य बजार क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल तथा इन्टरनेट तार अव्यवस्थित रहेको भन्दै नगर कार्यपालिकाले सम्बन्धित पक्षलाई निर्देशन गरेको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिए।काठमाडौं, वैशाख ३० : स्याङ्जाको पुतलीबजार नगरपालिकाले नगर क्षेत्रलाई सुन्दर बनाउने भएको छ। शुक्रबार बसेको कार्यपालिकाको ८७ औँ बैठकले नगरलाई सुन्दर बनाउने लगायतका जनजीवनसँग जोडिएका विभिन्न विषयमा महत्वपूर्ण निर्णय गरेको हो।
जसअन्तर्गत स्याङ्जा बजार क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको हो। सिद्धार्थ राजमार्गभित्र पर्ने पुतलीबजारका मुख्य बजार क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल तथा इन्टरनेट तार अव्यवस्थित रहेको भन्दै नगर कार्यपालिकाले सम्बन्धित पक्षलाई निर्देशन गरेको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिए।
‘हामी पहिला कार्यपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्छौ । नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।, यदि सरोकारवाला निकायले नगर कार्यपालिकाले गरेको निर्णयलाई वेवास्ता गरेमा नगरपालिकाले कानुन अनुसार निर्णय लिन पनि पछि पर्दैनौं’, नगर प्रमुख तुलसीराम रेग्मीले भने।
बजार क्षेत्रभित्र सडकको दायाँ र बाँया बजारको सौन्दर्य नै कुरुप बनाउने गरी जथाभावी तारहरु झुण्डिरहेको र कुनै पनि बेला आगलागीको सम्भावना रहेको अवस्थालाई मध्येनजर गर्दै पुतलीबजारले यस्तो निर्णय गरिएको प्रमुख रेग्मीले बताए।
यस्तै स्याङ्जा बजारको अव्यवस्थित खानेपानीको उपयुक्त व्यवस्थापन गर्न सरोकारवाला निकाय, उपभोक्ता समिति लगायतसँग छलफल गरी बजार क्षेत्रभित्र खानेपानी पुर्याउने, फुटपाथ एवम् सडक पेटीमा राखिएका सामान र मापदण्ड विपरितका विज्ञापनका होडिङ बोर्डहरु पनि हटाउने निर्णय गरिएको पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।
यस्तै सङ्घीय सरकारले धमाधम बजेट कटौती गरिरहेको समयमा आवश्यक पर्ने बाहेकका तालिम, अभिमुखीकरण, गोष्ठी, सेमिनार र क्षमता विकास जस्ता शीर्षकमा रहेको बजेट खर्च कटौती गर्ने निर्णय पनि गरेको छ।