चलचित्र समाजको ऐना हो : उपराष्ट्रपति यादव
‘सीमित स्रोत, साधन र बजारको बाबजुद नेपाली चलचित्रले निर्माण गरेको उचाइ हाम्रो लागि गौरवको विषय हो किनकि चलचित्र हाम्रो समाजको ऐना हो,’ उनले भने।
काठमाडौं, वैशाख ३० : काठमाडौँस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार एक समारोहको आयोजना गर्दै ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले २०७७, २०७८ र २०७९ सालमा प्रदर्शन भएका नेपाली चलचित्र तथा कलाकर्मीलाई पुरस्कृत गरे।
तीन वर्षदेखि रोकिएको अवार्ड समारोहमा कलाकर्मीलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको उपराष्ट्रपति यादवले बताए। ‘यो क्षेत्रले मनोरञ्जन प्रदान गर्ने मात्र नभई हाम्रो मौलिक भाषा, भेषभूषा, संस्कृति, इतिहासको संरक्षण र सम्वर्द्धन पनि गरिरहेको छ। यो सिर्जनशिल कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो’, उपराष्ट्रपति यादवले भने।
‘सीमित स्रोत, साधन र बजारको बाबजुद नेपाली चलचित्रले निर्माण गरेको उचाइ हाम्रो लागि गौरवको विषय हो किनकि चलचित्र हाम्रो समाजको ऐना हो,’ उनले भने।
उनले समारोहमा दुई पाका प्राविधिकलाई दीर्घसाधना सम्मान प्रदान गरे। समारोहमा भान्छा व्यवस्थापक जेठा दाइका उपनामले परिचित कुलबहादुर महत र शृङ्गारकर्ता सन्तु तामाङलाई नगद राशि एकाउन्न हजारसहित सम्मान गरिएको थियो।
अवार्ड आयोजक दिनेश डिसीले पर्दामा देखिने वस्तु वा व्यक्ति चम्काउन जीवन बिताए पनि योगदान गौण जस्तो देखिने तर महत्वपूर्ण कर्मशील हातलाई सलाम गर्ने उद्देश्यले सम्मान गरिएको बताए।
समारोहमा क्याराभान र हनी हन्टर चलचित्रका फ्रान्सेली निर्देशक एरिक भ्याली, निर्देशक निश्चल बस्नेत, निर्माता सन्तोष सेनसँगै कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई’ ट्रेण्डसेटर अवार्ड’ प्रदान गरिएको थियो।












