Kathmandu Press

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेट

दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेट

काठमाडौं, वैशाख ३० : परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा. एस जयशङ्करबीच भेटवार्ता भएको छ। छैटौं हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुगेका उनीहरूबीच भेट भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ।

दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

परराष्ट्रमन्त्री साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रबार दिउँसो बंगलादेश गएका थिए।

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा उहाँले भोलि वैशाख ३० गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री र उहाँ नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।

शुक्रबार नै परराष्ट्रमन्त्री साउद र उनका बङ्गलादेशी समकक्षी डा. एके अब्दुल मोमेनबीच पनि भर्चुअल वार्ता भएको थियो। सो अवसरमा दुवै मन्त्री नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न पक्षको बारेमा जानकारी आदानप्रदान गर्नुका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा, शिक्षा, जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न मिलेर काम गर्न सहमत भएका थिए।

परराष्ट्रमन्त्री साउदले सम्मेलनका क्रममा जापान, सिङ्गापुर र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग छुट्टाछुट्टै भेट गर्ने छन्।

प्रकाशित मिति: ०७:३८ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्