गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ, जीतप्रश बने आर्थिक मामिला मन्त्री
शुक्रबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले कांग्रेसका तीन र माओवादीका एक मन्त्रीलाई शपथ गराएका हुन्।
कास्की, वैशाख २९ : गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले कांग्रेसका तीन र माओवादीका एक मन्त्रीलाई शपथ गराएका हुन्।
कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आले मन्त्री बन्दा माओवादीका रेशम जुग्जालीलाई मन्त्री बनेका छन्।
योसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसका सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विनाविभागीय मन्त्री बनाएका थिए।
मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादी पार्टीले मन्त्री बनाउन सिफारिस गरेका राजीव गुरुङ (दीपक मनाङे)लाई भने मन्त्री बनाएनन्, उनले मनाङेको स्थानमा कांग्रेसकै जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन्।
मन्त्रिपरिषदमा महेन्द्रध्वज जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, दीपेन्द्रबहादुर थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँदा रेशम जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै, अन्तिम समयमा मन्त्री बन्ने अवसर पाएका जीतप्रकाश आले आर्थिक मामिला मन्त्री बनेका छतन्। यस्तै, यसअघि विनाविभागीय मन्त्री बनेका सुशील सिम्खडाले सामाजिक विकास तथा स्वास्थ्य र सरस्वती अर्याल तिवारीले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।











