नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न विद्यार्थी नेताहरुको माग
अन्तरक्रिया कार्यक्रमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाब विना निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिएका हुन्।
काठमाडौं, वैशाख २८ : विभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको कुनै दबाब विना निष्पक्ष छानविन गर्न माग गरेका छन्।
बिहीबार संवाद डवलीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाब विना निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले न्यायिक निष्कर्षमा पुराउँछ कि पुराउँदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताइन्। उनले राम्रो काम गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारलाई कमजोर पार्ने काम गर्न नहुने बताइन्।
त्यस्तै एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुराउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसँग जोडेर हेर्न नहुने बताए। उनले यस प्रकरणले विश्वजगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्रद्रोह गर्नेलाई कारबाही हुनुपर्ने माग गरे।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दबाब र प्रभावमा नपर्न खबरदारी गरे।
अन्य विद्यार्थी संगठनका नेताहरुले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरि संलग्न सवैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाब दिएका थिए।











