मुकेशलाई शहीद घोषणा गरिन्छ : मन्त्री मोदी
लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याउनुभएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे।
काभ्रे, वैशाख २८ : संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गर्ने बताएका छन्।
बनेपामा आयोजित दोस्रो जनआन्दोलनका घाइते मुकेशको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्न आग्रह गरे। मुकेशको उपचारका क्रममा बुधबार साँझ निधन भएको थियो।
‘मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस्। उहाँको निधनले राष्ट्र आज शोकाकुल छ’, मन्त्री मोदीले भने।
लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याउनुभएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे।
‘इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो,’ उनले भने। सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको र हरेक मनिसको मृत्यु फरकफरक ढंगले हुनेगरेको उनको भनाइ थियो।
मुकेश प्रतिष्ठानले मन्त्री मोदीलाई मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत माग प्रस्तुत गरिएको थियो।











