स्थानीय तहले सीप र बजार प्रवर्द्धनमा जोड दिनुपर्छ मन्त्री रिजाल
प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ।
मोहत्तरी, वैशाख २८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रर्द्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
बिहीबार महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गरे। उनले सीप बढाउन, स्थानीय सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गरे।
‘जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौं’ रिजालले भने, ‘स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ।’
प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ।
मन्त्री रिजालले अब दलहरुका नियमित सांगठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरुपको काम देखिनपर्ने उल्लेख गरे।
‘अब आर्जनको पाटोमा जनतालाई उत्प्रेरित गर्न दलहरुको प्रयत्न देखिनपर्छ। अहिलेसम्मका आन्दोलनका कारण जनताले राजनीतिक अधिकार पाएका छन्, अब समृद्धिका लागि उत्पादन र बजार बढाउन जरुरी छ,’ मन्त्री रिजालले भने।
यस्तै, मन्त्री रिजालले अहिले प्रहरीले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीमा सरकारी हस्तक्षेप नहुने स्पष्ट पारे।











