शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न नेकपा एसको माग
बैठकले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुनी तथा प्रशासनिक कारबाही नहुँदा लोकतन्त्र र न्याय कमजोर हुने निष्कर्ष निकालेको छ।
काठमाडौं, वैशाख २७ : नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।
आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारी संलग्नता देखिएको सो घटना आर्थिक अनियमिता, मानव तस्करी र राष्ट्रघातीसमेत भएको ठहर गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए।
छानबिनको दायरा बढ्दै जाँदा यस काण्डको अनुसन्धानलाई नाजायज प्रभाव पार्ने गतिविधि हुनसक्ने भएकाले त्यसप्रति सरकारलाई सजग हुन आग्रह गर्दै बैठकले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुनी तथा प्रशासनिक कारबाही नहुँदा लोकतन्त्र र न्याय कमजोर हुने निष्कर्ष निकालेको छ।
विगतमा यस्ता दबाइएका अन्य घटनामा पनि यसैगरी छानबिन अगाडि बढाउन माग गर्दै बैठकले कुनै पनि शक्तिले पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर हुन नदिन सबै दोषीमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढनुपर्ने सुझाव दिएको छ।
बैठकले राजनीतिक दल, सामाजिक सङ्घ संस्था तथा सञ्चारमाध्यमलाई समेत यसको अनुसन्धान र कारबाही प्रक्रियालाई निष्पक्ष अनुसन्धान र पारदर्शी कानुनी कारबाहीका लागि आवश्यक दबाब सिर्जना गर्नका साथै सो काण्डविरुद्ध उभिन पार्टी पङ्ति तथा जनसङ्गठनलाई आह्वान गरेको छ।











