९ महिनामा ९ खर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रियो
नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा देश भित्रिएको रेमिट्यान्समा २४.२ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो ।काठमाडाैं, वैशाख २७ः चालु आर्थिक वर्ष २०७९/८० को सुरूवाती ९ महिनामा रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा देश भित्रिएको रेमिट्यान्समा २४.२ प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।
गत चैत सम्ममा नेपालले प्राप्त गरेको रेमिट्यान्स ६ अर्ब ९२ करोड अमेरिकी डलर बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह वृद्धिदर १३.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१५ प्रतिशतले बढेर ३ तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा ५.५ प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।