शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा थप २ जना पक्राउ

काठमाडौं, वैशाख २६ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेकाे छ।
उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेकाे प्रहरीले जनाएकाे छ। उनीहरु दुवैले बिचौलियाका रुपमा काम गरेकाे प्रहरीकाे भनाइ छ।
यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ।
शरणार्थी प्रकरणमा यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्।
यस्तै, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन्।
एमाले सांसदसमेत रहेका रायमाझी भने अहिले फरार छन्। इन्द्रजित राईका निरज पनि फरार छन्।रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकै दिन निरजलाई पनि पक्राउ पुर्जी जारी गरिएको थियो।











