टोपबहादुर रायमाझीले कानुनी प्रक्रियामा सघाउनुपर्छ : एमाले
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएको अवस्थामा फरार रहेका रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष एमालेले निकालेको हो।
काठमाडौं, वैशाख २६ : एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीले कानुनी प्रक्रियामा सघाउनुपर्ने निष्कर्ष निकालेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएको अवस्थामा फरार रहेका रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष एमालेले निकालेको हो।
आसन्न केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न सोमबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले यस विषयमा छलफल गरेको थियो।
बैठकपछि उपमहासचिवसमेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय बैठकले लिए पनि उनलाई कारबाही गर्ने विषयमा भने कुनै छलफल नगरेको बताए।
‘जुन अनुसन्धानका सन्दर्भमा उहाँको नाम आएको छ। कानुन र विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक हुने अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निर्णय लिइएको छ,’ उनले भने।
एमाले सचिव रायमाझीको नाम अनुसन्धानका सन्दर्भमा आएको भन्दै एमालेले पार्टीबाट कारबाही गर्न हतार नगर्नेसमेत जनाएको छ।
वैठकले वैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न १० वटा एजेण्डा तयार गरेको गुरुङले बताए।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक घटनाक्रम, अध्यक्षको राजनीतिक प्रतिवेदन पेश, मिसन ग्रासरुटको प्रतिवेदन पेसलगाएत एजेण्डामाथि छलफल हुने गुरुङले जानकारी दिए।











