‘बजेटमा गरिने संकल्प जनताको जीवनको यथार्थमा रुपान्तरण हुनुपर्छ’
उनले २४ प्रतिशत भार ओगटेको कृषि क्षेत्रलाई उपेक्षा गर्दा अर्बाैंको कृषि वस्तु आयात गर्नुपरेको धारणा राखे। विष्टले समाजवाद उन्मुख अर्थतन्त्रको प्रतिबद्धतालाई पूरा गर्न आगामी बजेट केन्द्रित हुनुपर्ने जिकिर गरे।
काठमाडाैं, वैशाख २६ : एमाले सांसद गोकर्ण विष्टले बजेटमा आउने संकल्प जनताको जीवनको यथार्थमा रुपान्तरण हुन नसके सार्थकता पाउन नसक्ने बताए।
उनले २४ प्रतिशत भार ओगटेको कृषि क्षेत्रलाई उपेक्षा गर्दा अर्बाैंको कृषि वस्तु आयात गर्नुपरेको धारणा राखे। विष्टले समाजवाद उन्मुख अर्थतन्त्रको प्रतिबद्धतालाई पूरा गर्न आगामी बजेट केन्द्रित हुनुपर्ने जिकिर गरे।
त्यस्तै माओवादी केन्द्रका सासंद महेन्द्रबहादुर शाहीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पूर्ण र नयाँ कुरा केहि नरहेको भन्दै संसदमा छलफल सहित प्रभावकारी बनाएर लैजानुपर्ने बताए।
प्राथमिकताका आधारमा लगानीको क्षेत्रलाई पहिचान गरेर मात्रै लगानी गर्न सके मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने उनले बताए। उनले सरकारको फजुल खर्चलाई नियन्त्रण गर्न सुझाव दिए।
त्यस्तै सांसद प्रेमबहादुर महर्जनले कृषि उत्पादनमा बढी जोड दिनुपर्ने बताए। सांसद सूर्यप्रसाद ढकालले राष्ट्रिय गौरव र अन्य योजनामा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने र उद्योगहरुको विस्तारका लागि आवश्यक बजेट छुट्टाउनुपर्ने धारणा राखे।
सांसद वासुदेव घिमिरेले उत्पादन वृद्धि गर्ने र ऋण कम गर्ने खालका कामहरु गर्नुपर्ने र समग्रमा मुलुकको आर्थिक उत्पादन वृद्धि गर्ने खालका काम गर्नुपर्ने धारणा राखे।
सांसद प्रभु साहले पढेलेखेका, युवा सबै विदेश जान चाहिरहेका हुँदा मुट्ठीभरका मानिस खुसी र धेरै नेपालीहरु दुःखी भएको अवस्था सुनाए। सांसद सूर्यप्रसाद ढकालले राष्ट्रिय गौरव र अन्य योजनामा हुने भ्रष्टाचार रोकिनुपर्ने र कलकारखानाहरुको विकास र विस्तार गर्न बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिए।
सांसद सम्झना थपलियाले सरकारले दिएको सहुलियत किसानको ऋणमा गैरकिसानले लिएर चलाउने गरेको र वास्तविक किसान मिटरब्याजीको फन्दामा पर्ने गरेको सुनाइन्। सांसद हर्कमाया विश्वकर्माले राज्यले मुलुकको आर्थिक वृद्धि, सुशासन र समृद्धि गर्ने खालको बजेट बनाउनुपर्नेमा जोड दिइन्।
प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गरेको कर प्रस्तावबाहेक बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी छ।











