Kathmandu Press

भ्रष्टाचारविरुद्ध फाइल हाेइन फायर खोल्नुपर्छ : महामन्त्री शर्मा

‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ राज्यले,' उनले भने, ‘कुनै इफ, बट, किन्तु, परन्तु नगरीकन भ्रष्टाचारको छानबिनका सन्दर्भमा राज्यले कठोरतापूर्वक जान राज्यले कुनै हदम्याद राख्नुहुँदैन।’
भ्रष्टाचारविरुद्ध फाइल हाेइन फायर खोल्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, वैशाख २६ : कांग्रेस सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्ने बताएका छन्।

कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले आजको प्रतिनिधिसभा बैठकमा भइरहेको २०८०/८१ का लागि विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता सम्बन्धको छलफलमा सहभागी हुँदै भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुर्‍याउनुपर्ने, निर्दोष कोही फस्न नहुने र दोषी बच्न नहुनेमा जोड दिए।

‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ राज्यले,' उनले भने, ‘कुनै इफ, बट, किन्तु, परन्तु नगरीकन भ्रष्टाचारको छानबिनका सन्दर्भमा राज्यले कठोरतापूर्वक जान राज्यले कुनै हदम्याद राख्नुहुँदैन।’

शर्माले रेमिट्यान्सबाट आउने १० प्रतिशत रकम जलविद्युत्मा लगानी गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाए। जनतालाई भोटको मात्र नभई नोटको पनि मालिक बनाउन जलविद्युतमा लगानी महत्त्वपूर्ण हुने उनको भनाइ थियो। वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत्मा जोड्न सके उनीहरू भोटको मात्र नभई नोटको पनि मालिक हुने  उनले बताए। ‘रेमिट्यान्सबाट आएको १० प्रतिशत पैसा मात्रै हाइड्रोमा डाइभर्ट गर्न सकियो भने यो देशको भोटको मात्र हैन, नोटको पनि मालिक जनता बन्न सक्छन्,’ उनले भने। 

अरुण तेस्रो जलविद्युत् आयोजना राष्ट्रवादको नाराको चपेटामा परेको उनले बताए। राजनीतिक प्रवृत्तिले नै काममा ढिलासुस्ती भएको उनको आरोप छ ।

सांसद शर्माले हालको नीतिले विश्वभरिका नेपालीबाट लगानी भित्र्याउन नसकिने बताए। उनले विदेशमा रहेका नेपालीको लगानी आकर्षित गर्न नीतिगत सुधारको आवश्यकता औंल्याए। उनले  गैरआवासीय नेपालीलाई एकातर्फ लगानी दूत बनाउने भनिए पनि संविधानको परिकल्पनाअनुरुप गैरआवासीय नेपालीको नागरिकताको विषयमा अड्किएर बस्नुपरेको बताए। 

गैरआवासीय नेपालीको नागरिकताको विषयलाई अड्काएर राखिएका कारण पनि लगानीमा समस्या हुन सक्ने उनले बताए। सरकार र  निजी क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्ने भन्दै उनले ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्ने बताए।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्