लोकसेवा आयोगका डेटा सुरक्षित राख्न नसक्नेलाई कारबाही गर्न सांसद डाँगीको माग
प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन्।
काठमाडौं, वैशाख २६ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित राख्न नसक्नेलाई कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।
प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन्।
‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ। डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ,’ उनले भनिन्, ‘विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन । डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस्।’
परिक्षार्थीका फारामका विवरण सुरक्षित राख्नुपर्नेमा त्यसो नगरेर अधिकारीहरूले लापरबाही गरेको सांसद डाँगीको भनाइ छ। आयोगले परिक्षार्थीहरूका तथ्यांक हराएको भन्दै पुनः फाराम भर्नका लागि सूचना जारी गरेको विषयलाई सांसदले प्रतिनिधिसभा बैठकमा विषय उठाएकी हुन्। उक्त प्रकरणले पनि युवाहरूलाई राज्यप्रति निराश बनाएको उनले बताइन्।
सांसद् डाँगीले युवाहरूको भविष्यसँग खेलबाड नगर्न र पटक–पटक लोकसेवा आयोगले लिने परिक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न सम्बन्धित निकायसँग अनुरोध गरिन्।











