भ्रष्टाचार छानविन गर्न माग गर्दै अमरेश्कुमार सिंहविरुद्ध अख्तियारमा उजुरी
सिंहविरुद्ध पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ। २०६३ सालपछि राजनीतिमा सक्रिय रहेका सिंहले गैरकानुनी सम्पत्ति आर्जन गरी ठूलो आर्थिक फड्को मारेको दाबी उजुरीमा छ।
काठमाडौं, वैशाख २५ : भ्रष्टाचारमा छानविन र कारबाहीको माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
उजुरीमा सिंहको सम्पत्ति छानबिन गर्न माग गरिएको छ। नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले अख्तियारमा उजुरी दिएका हुन्। सिंहविरुद्ध पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ। २०६३ सालपछि राजनीतिमा सक्रिय रहेका सिंहले गैरकानुनी सम्पत्ति आर्जन गरी ठूलो आर्थिक फड्को मारेको दाबी उजुरीमा छ।
२०६३ सालपछि सिंह नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए। २०७९ को निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र सांसदका रुपमा निर्वाचन लडेर विजयी भएका थिए।
छाटो समयमा सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको उजुरीमा उल्लेख छ।
उजुरीमा भनिएको छ, ‘निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो।’
सिंहको अस्वभाविक र अमिल्दो जिवन शैली देखिएको भन्दै छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न अख्तियार समक्ष माग गरिएको छ। आर्थिक चलखेलबाट सर्लाहीमा पटक–पटक निर्वाचित भएको तर त्यस क्षेत्रको विकासका लागि कुनै पहल नगरेको भनाइ समेत उजुरीकर्ताको छ।











