अर्थतन्त्रको विद्यमान चुनौतीको सामना गर्नेगरी बजेट ल्याउनुपर्छ : विष्णु पाैडेल
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिदै पौडेलले अर्थतन्त्रका सम्भावित चुनौतीलाई सामना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने लक्ष्यका साथ बजेट आउनुपर्नेमा जोड दिए।
काठमाडाैं, वैशाख २५ : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको विद्यमान चुनौतीको सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिदै पौडेलले अर्थतन्त्रका सम्भावित चुनौतीलाई सामना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने लक्ष्यका साथ बजेट आउनुपर्नेमा जोड दिए।
पौडेलले राजस्व परिचालनका सन्दर्भमा देखा परेका गम्भीर समस्याको पहिचान गर्दै कर प्रणालीलाई प्रभावकारी बनाउने, कर चुहावट नियन्त्रण गर्न सक्ने आर्थिक अवस्था सुधार हुन सक्ने बताए।
मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन बजेट केन्द्रित हुनुपर्ने उनले बताए। उनले चालु आर्थिक बर्षको अर्थिक वृद्धिदरको लक्ष्य हासिल हुन कठिनाइ हुने देखिएको र राजस्व संकलन पनि राम्रो नभएको अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती विद्यमान रहेको जिकिर गरे।
त्यस्तै माओवादी केन्द्रमा सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थाको चित्रण सबैको साझा अवस्था भएको भन्दै अर्थतन्त्रलाई सुधार गर्न साझा रुपमा सोच्नुपर्ने बेला आएको बताए। उनले संघीयता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने र ठूला पूर्वाधार बनाउनुभन्दा जनताको जीवनस्तर सुधार्ने विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा राखे।
उनले बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्न समेत सुझाव दिए।











