सरकारले पपुलिस्ट हाेइन यथार्थपरक बजेट ल्याउनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं, वैशाख २५ : कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारलाई हौसिएर बजेट बनाउने सुविधा नभएको बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा सहभागी हुँदै उनले भने, ‘स्रोतमा संकुचन आएको छ। आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन। आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ। स्रोतमा आएको संकुचनका कारणले हौसिएर बजेट बनाउने सुविधा सरकारलाई छैन। अहिलेको अवस्थामा पपुलिस्ट नभएर यथार्थपरक बजेट ल्याउनुपर्छ।’
उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने विषयप्रति समर्थन जनाए। ‘सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने प्रतिबद्धता जनाउनुभएको छ, त्यसको स्वागत गर्न चाहन्छु। समर्थन गर्न चाहन्छु।’
उनले नेपाल विकासको फड्को मार्ने सम्भावना भएको मुलुक भएपनि सरकारले सो अनुसार अगाडि बढाउन नसकेको बताए। २०४६ सालमा नेपालीहरूको प्रतिव्यत्तिm आय १८० डलर भए पनि सन् २०२१ सम्म आइपुग्दा त्यो आय १२ सय डलर मात्र पुग्नु सुस्त अवस्था भएको यनको भनाइ थियो।











