आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण
राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले जडीबुटी, वनजंगल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरुले ठेक्कापट्टामा रहेको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए।
काठमाडौं, वैशाख २५ : राष्ट्रियसभाका सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले जडीबुटी, वनजंगल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरुले ठेक्कापट्टामा रहेको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए।
सांसद दिलकुमारी थापा रावलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीन प्रतिशतको हाराहारीमा रहने अवस्था आएको सन्दर्भमा ‘फराकिलो आर्थिक’ भन्ने विषय प्रष्ट नभएको बताइन्। दैनिक ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेको सन्दर्भमा देशभित्रै रोजगारीको प्रबन्ध गर्न, निजी क्षेत्रको समस्या समाधानमा मनोबल बढाउन उनले सरकारको ध्यानाकर्षण गराइन्।
सहकारीले निक्षेप लिएर भागेको, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्नुपर्दैन भनेर फैलाइएको अराजकता नियन्त्रणका लागि पनि उनले आग्रह गरिन्।
यस्तै, सांसद कमला पन्तले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या स्वयम् अर्थमन्त्री र अर्थमन्त्रालयलाई नै थाहा भएकाले खास अर्थमा समाधानको उपाय अपनाउन आग्रह गरिन । ‘बिरोलो बाँधेर श्राद्ध गर्नेतर्फ भन्दा पनि खास खास अर्थमा गर्न सकिने विषयलाई बजेटमा समावेश गरौं। हाम्रोमा कार्यान्वयनमा समस्या छ, योजनामा होइन,’ उनले भनिन्।
सांसद पन्तले एकीकृत बस्तीको विकासमा ध्यान दिन र मानव जंगली जनवारबीचको द्वन्द्व समाधान गर्ने योजना ल्याउन, महिलालाई आर्थिक विकासमा लाग्ने वातावरण बनाउन, ओरालो लागेको शेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइन्। उनले एक हजार र पाँच सयको नोट तत्काल प्रतिबन्ध लगाउन पनि माग गरिन्।
संसद पन्त साधारण खर्च घटाएर पूँजीगत खर्च बढाउन देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै नेपाल राष्ट्र बैंकले सधैं मौद्रिक नीतिको समीक्षामा नकारात्मक विवरण मात्रै समावेश गरेर प्रकाशित गर्ने गरेकामा आपत्ति प्रकट गरिन्। रासायनिक मल कारखाना स्थापना गर्ने प्रबन्ध बजेटमा गरिए त्यसले आम किसानको मनोबल बढाउने उनको भनाइ छ।
यस्तै, सांसद सिंहदरबहादुर विश्वकर्माले ठूला भौतिक पूर्वाधार तथा ग्रामीण क्षेत्रको वृहत्तर विकास तथा विद्युत् खपत प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए। नेपाललाई चलचित्र छायांकनस्थलको विकास गर्ने गरी विशेष प्रबन्ध गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
सांसद मृगेन्द्रकुमार सिंह यादवले जनसंख्याको आधारमा बजेटको विनियोजन गर्नुपर्ने, समयमै कार्यान्वयनको प्रबन्ध गर्न, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेख्य मात्रामा खर्च गर्ने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद शेखरकुमार सिंहले जलविद्युत्मा मुलुकले ठूलो प्रगति गरेको भए पनि उद्योग धन्दामा लोडसेडिङ भइरहेको भन्दै समस्या समाधान गर्न आग्रह गरे।











