सुरुदेखि अहिलेसम्म सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न आरजु राणाकाे चुनाैती
उनले सुरुदेखि अहिलेसम्मका सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न र वेबसाइटमा राख्न चुनौती पनि दिइन्। ‘जनतालाई थाहा होस्, सुरुमा कसको कति सम्पत्ति थियो, पछि कति भयो,’ उनले भनिन्।
काठमाडाैं, वैशाख २४ : नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भ्रष्टाचारको विषयमा आफ्नो नाम जोडेर अनेक प्रश्न उठाएको भन्दै आपत्ति जनाएकी छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले आफू र आफ्ना पति शेरबहादुर देउवा सांसद भएदेखि यताको सबै सम्पत्ति छानबिन गर्न चुनौती दिइन्। ‘मेरा श्रीमान् पाँचपटक प्रधानमन्त्री हुनुभयो, उहाँको र मेरो सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ,’ उनले भनिन्।’
उनले सुरुदेखि अहिलेसम्मका सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न र वेबसाइटमा राख्न चुनौती पनि दिइन्। ‘जनतालाई थाहा होस्, सुरुमा कसको कति सम्पत्ति थियो, पछि कति भयो,’ उनले भनिन्।
‘भारतमा हरेक महिना कर्मचारीले सबै हिसाबकिताब सरकारलाई बुझाउनुपर्छ, त्यो व्यवस्था नेपालमा पनि ल्याऔं, सक्छौं?’ उनले भनिन्, ‘ठुलाठुला भाषण गरेर मात्रै हुन्छ? सबैले तथ्यमा बोल्नुपर्छ।’
आफूले कुनै गल्ती नगरेको भन्दै उनले जति आलोचना गरेपनि आफू नडराउने बताइन्। उनले तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न आग्रह गरिन् ।
एउटा नारी राजनीतिक हैसियतमा आउँदा यो देशमा सह्य नहुने देखिएको उल्लेख गर्दै उनले भनिन्, ‘नारीले पुरुषले भनेको ठाउँमा मात्र बस्नुपर्ने, पुरुषको भाष्यमा हिँड्नुपर्ने, नारी सार्वजनिक पदमा आउँदा पुरुषलाई असह्य हुने गरेको देखियो तर मैले केही बिराएको छैन, जसले जति आलोचना गरे पनि डराउँदिनँ।’











