सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ : गृहसचिव
गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा उनले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
काठमाडाैं, वैशाख २४ : गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन्।
गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा उनले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
उनले कार्यशालामा उठेका विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै यहाँबाट आउने सुझावलाई गृह मन्त्रालयले समयअनुसार सशक्त कार्यान्वयनमा लैजाने बताए। राष्ट्रिय योजना आयोगकी अध्यक्ष कमलाकुमारी पौडेलले द्वन्द्वको समयमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा चपेटामा परेको बताए।
उनले द्वन्द्वकालमा हजारौँ बलात्कारका घटना घटेता पनि उक्त घटना अझैसम्म बाहिर आउन नसकेको गुनासो गरे। अध्यक्ष पौडेलले गृह मन्त्रालयले तयार गरेको सम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको सफल कार्यान्वयनमा सरकार लाग्नुपर्ने बताए।
प्रतिनिधिसभा सदस्य मैना रावल कार्कीले द्वन्द्वका घटनालाई सरकारले समाधानको बाटोमा लैजानुपर्ने बताए। उनले द्वन्द्वबाट पीडित दुरदराजका जनतालाई समेत सरकारले न्याय दिनुपर्ने उल्लेख गरे। द्वन्द्वकालमा पीडित परिवारका बच्चाको अवस्था दयनीय रहेको उनको भनाइ थियो।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले प्रत्येक व्यक्तिले न्याय पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए। देशको विकासका लागि प्रत्येक व्यक्ति जागरुक हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सहसचिव अरुणा जोशी, राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहाललगायतले विषयगत मन्त्रालयले महिला हिंसाको क्षेत्रमा फरकफरक कार्ययोजना बनाउनुभन्दा एउटै कार्ययोजना बनाएर त्यसलाई लागु गर्नुपर्नेमा जोड दिएका थिए।











