Kathmandu Press

‘अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन’

अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने दाहालले उल्लेख गरे।
‘अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन’

काठमाडौं, वैशाख २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्।

‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’मा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जाने लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो विस्तारै कम हुँदै गएको बताए।

‘नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो भनेर गतवर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन। हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौं,’ प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रको समस्या गम्भीर छ। तर हामी आतंकित हुनुपर्ने अवस्था छैन। यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ।’

कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए। अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनले बताए।

अर्थतन्त्रको खराब अवस्था चलिरहँदा सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिलाई तीव्र बनाउन लाग्नुपर्ने दाहालले उल्लेख गरे।

संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको पनि प्रधानमन्त्रीको भनाइ छ। उनले भने, ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत् आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ। चुनौतीका बाबजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्।’

अन्य विकसित र विकासशील मुलकहरूको अर्थतन्त्रमासमेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायत निकायहरुले गरेको प्रक्षेपणका बाबजूद नेपालको अर्थतन्त्रमा विस्तारै सुधार हुँदै गएको प्रधानमन्त्री दाहाललको दाबी छ।

प्रकाशित मिति: १०:५५ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्