नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीको अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्छ : नेता तामाङ
नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्याउने बताए।
काठमाडाैं, वैशाख २३ : नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशंका गर्दै सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्ने बताएका हुन्। नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलले अनुसन्धानमा सकारात्मक सहयोग पुर्याउने बताए।
उनले उक्त प्रकरणको अनुसन्धान प्रक्रियामा सिमित मान्छेहरुलाई कारबाही गरेको देखाएर कतै अरुलाई उम्काउन त खोजिएको भन्दै प्रश्न गरे। तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पुरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने ढंगले संसदबाट कानुन पारित गर्न खोजेको पनि आरोप लगाए।

त्यस्तै जसपाका नेता राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध भएकोले दोषी जोसुकै भए पनि उनीहरुलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे। यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राष्ट्रघात भएको बताए। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सुशासनको पक्षमा काम गर्ने ऐतिहासिक अवसर भएको भन्दै उहाले यसर्लाइ निष्कर्षमा पुराउनुपर्ने जिकिर गरे।
त्यस्तै माओवादी केन्द्रकी नेतृ कल्पना धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधिनतामा पनि खलल पुर्याएको भन्दै यसमा संलग्न दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताए।
उहाले नागरिकले चाहेको सुशासन वर्तमान सरकारले कायम गर्नसक्ने भन्दै यसलाई निश्कर्षमा पुर्याउनुपर्ने धारणा राखे।











