लग्जम्बर्गका मन्त्री फ्रन्ज फयोटले भने- लग्जम्बर्ग र बेथानचोक उस्तैउस्तै
'यता आइरहँदा बाटोमा देखेको आलुखेती, यहाँको रूखबिरुवा देख्दा म लग्जम्बर्गमै छु झैँ लाग्यो, लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो, बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदोरहेछ।'
काभ्रेपलाञ्चोक, वैशाख २३ : लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुगे। जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उनलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो।
गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा सोधे, ‘नमस्कार बेथानचोक ! आराम हुनुहुन्छ?’ उपस्थित सबैले आराम छौँ, अनि तपाईं? भन्नेबित्तिकै फयोटले भने, 'मेरो नाम फ्रन्ज फयोट हो, मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो।'

कार्यक्रममा बोल्ने क्रममा बेथानचोक जाँदाको छोटो अनुभव सुनाउँदै मन्त्री फयोटले भने, 'यता आइरहँदा बाटोमा देखेको आलुखेती, यहाँको रूखबिरुवा देख्दा म लग्जम्बर्गमै छु झैँ लाग्यो, लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो, बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदोरहेछ।' उनले यत्ति भनिरहँदा स्थानीय खुसीले गदगद देखिन्थे। दोभासेमार्फत यी कुरा सुन्दा स्थानीय खुसी हुँदै मन्त्री फयोटलाई तालीले अभिनन्दन गरिरहन्थे।
स्थानीय ग्रामीण विकास संस्था (एआरडी) सँगको सहकार्यमा गाउँपालिकासँग मिलेर लग्जम्बर्गको एइआइएन लक्जम्बर्ग नामक संस्थाले बेथानचोकमा सञ्चालन गर्दै आइरहेका विभिन्न परियोजनामध्ये तरकारी उत्पादन तथा बजारीकरणको जानकारी लिन फयोट यहाँ आएका हुन्। लग्जम्बर्गले बेथानचोकमा जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीका माध्यमबाट कृषि तथा फलफूल उत्पादन एवं बजारीकरणमा सहयोग पुर्याउँदै आइरहेको छ।

संस्थाका अध्यक्ष विमला अधिकारीले तरकारी ढुवानीका लागि एइआइएन लक्जम्बर्गबाट रु २५ लाख ८० हजार सहयोग प्राप्त भएको र उक्त रकमबाट सवारी साधन खरिद गरिएसँगै बजारीकणका लागि सहज भएको जानकारी गराए। स्थानीयले बेथानचोकमै एउटा शीतभण्डार (कोल्डस्टोर) भए सहज हुने अपेक्षात्मक भनाइलाई मन्त्री फयोटले बेथानचोकका गाउँबस्तीमा बाटो निर्माणको चरणमा रहेकाले अबका केही महिनामा यहाँको कृषि उपज सहजै केन्द्रीय राजधानी काठमाडौँसम्मै लैजान सकिने भएकाले अन्य आवश्यकता बताउन आग्रह गरे।
मन्त्री फयोटले भने, 'आवश्यकताका बारेमा गाउँपालिका (स्थानीय सरकार) सँग सहकार्य गर्न सकिन्छ, भर्खरै सहकारीको प्रतिवेदन सुनेँ, चार सय १४ जनाबाट सुरु भएको सदस्य सङ्ख्या एक हजार सात पुगेछ, यो नै समृद्धिको बाटो ठान्नुस्, यसरी नै एक दिन बेथानचोक पनि मिनी लग्जम्बर्ग बन्ने छ।' करेसाबारी, व्यावसायकि खेती प्रणाली, कृषि तथा पशुपालन नै बेथानचोकको ‘समृद्धि’ हुने मन्त्री फयोटको भनाइ थियो। 'तपाईँ हामी मिलेर बेथानचोकलाई मिनी लग्जम्बर्ग बनाउनुपर्छ, हुन्छ नि?' उनको प्रश्नमा सबैको एउटै उत्तर आउँछ ‘हुन्छ नि!’

गाउँपालिकाको प्राङ्गणमा केहीबेर स्थानीयसँगको साक्षात्कारपछि मन्त्री फयोटसहितको एक समूहले कामीडाँडास्थित ग्रामीण विकास संस्थासँगको सहकार्यमा एइआइएन लक्जम्बर्गको रु. १ करोड १५ लाखको सहयोगमा निर्माण भएको कपेर महांकाल आधारभूत विद्यालयको भवन निरीक्षण गरेको थियो। विद्यालय जाने क्रममा मन्त्री फयोटले किसानको भकारो सुधार, करेसाबारी, व्यावसायिक खेती, कृषि तथा पशुपालनको निरीक्षणसमेत गरे।
मन्त्रीसहित लग्जम्बर्गकोको टोली कामीडाँडा पुग्दा स्थानीयले झाँकीसहित विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए। उक्त अवसरमा नवनिर्मित भवनको अवलोकन गर्दै उनले गुणस्तरीय संरचना बन्न सके बालबालिकाको सिकाइ उपलब्धिमा सुधार आउने र समाज दीर्घकालीन विकासको बाटोमा लम्किने बताए। फयोटले त्यहाँ पनि भने, 'बेथानचोक मिनी लग्जम्बर्ग बन्न सक्छ।'

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधारलगायत गतिविधिमा लग्जम्बर्गले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले पर्यटन, सडक सञ्जालीकरण, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा बेथानचोक गाउँपालिका क्रियाशील रहेको भन्दै अध्यक्ष अधिकारीले दातृ निकायसँग पनि थप सहकार्य हुँदै जाने अपेक्षा रहेको बताए।
अध्यक्ष अधिकारीले सन् १९७५ देखि नेपाल र लग्जम्वर्गबीच मित्रता कायम भएदेखि नै दुई देशबीच आपसी सहयोग जारी रहेको बताउँदै मन्त्री फोइडको बनेथानचोकलाई मिन लग्जम्वर्ग बनाउने भनाइप्रति आभार व्यक्त गरे। बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधार लगायतका गतिविधिमा एइआइएन लग्जम्वर्गले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

उनले विकासोन्मुख मुलुकहरू विकसित मुलुकका कारण उत्पन्न विद्यमान प्रतिकुल वातारणबाट प्रभावित भएको भन्दै जलवायु अनुकूलनमा लग्जम्वर्गले पुर्याएको योगदानको पनि प्रशंसा गरे। पर्यटन, सडक सञ्जालिकरण, शिक्षा स्वास्थ्य, वातावरणको क्षेत्रमा बेथानचोक गाउँपालिका क्रियाशील रहेको भन्दै अध्यक्ष अधिकारीले दातृ निकायसँग पनि सहकार्य हुँदै जाने बताए।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, ६ वटै वडाका अध्यक्षहरु क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुबेर ढकाल, कृष्ण बहादुर तामाङ, राजकुमार वाइबा, विष्णु तामाङ, विभिन्न वडा सदस्यहरु, गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, पूर्ववडाध्यक्षहरु राजनीतिक दलका प्रतिनिधिहरु, अभिभावक तथा स्थानीयलगायतको उपस्थिति थियो।














