पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर राजनीतिक स्थिरता कायम गर्नुपर्छ : उपेन्द्र यादव
रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने भन्दै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका हुन्।
काठमाडाैं, वैशाख १५ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका छन्।
रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने भन्दै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिएका हुन्।
उनले मुलुकले अत्यन्तै आर्थिक संकट बेहारिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रीत गर्नुपर्ने सुझाव पनि दिए।
अध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए। उनले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानविन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे।
यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर समाधानमुखी सम्बोधन गर्नुपर्ने जिकिर गरे।