नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : पूर्वगृहमन्त्री खाण
पूर्वगृहमन्त्रीसमेत रहेका नेता खाणले आज (शनिबार) एक प्रेस विज्ञप्ति जारी गरेर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या नगरिदिन सञ्चारमाध्यमहरूसँग उनले आग्रह गरेका छन्।
काठमाडाैं, वैशाख २२ : नक्कली शरणार्थी प्रकरणमा आफ्नो पनि नाम जोडिएर समाचार आउन थालेपछि कांग्रेस नेता बालकृष्ण खाणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता खाणले आज (शनिबार) एक प्रेस विज्ञप्ति जारी गरेर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या नगरिदिन सञ्चारमाध्यमहरूसँग उनले आग्रह गरेका छन्।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका थिए। त्यसअघि उनी गृह मन्त्रालयमा सचिव थिए। त्यसैलाई आधार बनाएर सो प्रकरणमा आफ्नो नाम पनि मुछ्न थालिएपछि पूर्वगृहमन्त्री खाणले विज्ञप्ति जारी गरेका हुन्।
‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ।’
नक्कली शरणार्थी प्रकरणमा बहालवाला सचिव पाण्डेसहित आठजना पक्राउ गरिसकेको र अरूलाई पक्राउ पुर्जी जारी गरेर खोजी गरिरहेको प्रहरीले जनाएको छ। त्यसरी पक्राउ पुर्जी जारी गरिनेमा एमाले सचिव टोपबहादुर रायमाझी पनि छन्। उनका छोरा उनका छोरा सन्दीप रायमाझी पनि बुधबार नै पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी गरिनेमा एमाले नेतासमेत रहेका पूवृगृहमन्त्री रामबहादुरका छोरा प्रतीक थापा पनि छन्।











