व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरण : रुगाटालाई पक्राउ गर्न माग गर्दै चितवन बन्द
शंकर कँडेल न्यायिक संघर्ष समितिले कँडेको आत्महत्या प्रकरणमा जोडिएका रुगाटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरेको हो।
चितवन, वैशाख २३ : पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई पक्राउ गर्न माग गर्दै चितवन बन्द गरिएको छ।
शंकर कँडेल न्यायिक संघर्ष समितिले कँडेको आत्महत्या प्रकरणमा जोडिएका रुगाटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरेको हो। बन्दका कारण राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन्।
नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन्। बन्दकर्ता आफूहरू मोटरसाइकलमा हिँडेका विभिन्न ठाँउमा पुगेर बन्द गराइरहेका छन्।
कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेका थिए।
त्यहाँ उनले सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका थिए।
परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ।
जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन्।











