Kathmandu Press

नक्कली शरणार्थी प्रकरणमा थप आरोपीको खोजी गर्दै प्रहरी

जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण संकलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।
नक्कली शरणार्थी प्रकरणमा थप आरोपीको खोजी गर्दै प्रहरी

काठमाडौं, वैशाख २२ : नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी प्रहरीले तीव्र पारेको छ।

पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण संकलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।

उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए। पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन।

‘अब १०–११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ’, प्रहरी उपरीक्षक रिजालले भने, ‘अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन्।

जिल्ला प्रहरी परिसरले उनीहरु विरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्।

उनीहरूले २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्। सुरुमा पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो।

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्