Kathmandu Press

घाटु नाचको महिमा

विशेष पर्वहरूबाहेक पनि सामुहिक वा व्यक्तिगत शुभ कार्य एवं खुसियाली, अतिथिहरूको स्वागत तथा सम्मान आदि कार्यमा यो नाच नाचिन्छ। घाटुको सुरुआत करिब सत्रौं शताब्दीतिर गण्डकी क्षेत्र तथा मादी र सेती नदीको संगमस्थल आसपासमा भएको जनश्रुति छ।
घाटु नाचको महिमा

घाटु श्रीपञ्चमीदेखि प्रारम्भ गरी चण्डीपूर्णिमा तथा बुद्ध जयन्तीको उपलक्ष्यमा समापन गर्ने एक प्रकारको ऐतिहासिक नृत्यनाटिका हो। यो नाच विशेष गरी गुरुङ, मगर, दरै, दुरा, माझी, थारू आदि जातिमा प्रचलित छ।

विशेष पर्वहरूबाहेक पनि सामुहिक वा व्यक्तिगत शुभ कार्य एवं खुसियाली, अतिथिहरूको स्वागत तथा सम्मान आदि कार्यमा यो नाच नाचिन्छ। घाटुको सुरुआत करिब सत्रौं शताब्दीतिर गण्डकी क्षेत्र तथा मादी र सेती नदीको संगमस्थल आसपासमा भएको जनश्रुति छ।

घाटु गीतमा त्यस क्षेत्रका हिमाल, पहाड एवं नदीनालाहरूको बारेमा उल्लेख गरिएकाले पनि यो कुराको थप पुष्टि भएको मान्न सकिन्छ तर कहिले, कहाँ कसले र घाटु नाच किन भनियो एवं घाटुका प्रमुख पात्र परशुराम कहाँका राजा थिए भन्ने कुरा अझै अनुसन्धानकै विषय भएको छ। 

Hardik ivf

सामान्यतय ९, १० वर्षका रजश्वला नभएका अंगभंग नभएका सर्वाङ्ग सुन्दरी लक्ष्णावती.दुई कन्यालाई घाटुसरी बनाई नचाउने चलन छ। कहीँकहीँ दुईभन्दा बढी पनि नचाउँछन्। कानमा चेप्टो सुन, नाकमा बुलाकी, मखमली चोली, पोते, शिरमा लया (भुटेको धान सिन्कामा उनेर बनाएको मुकुट, लया सिउरन पुरानो पात्र काटेर बनाएको विरपट्टी), बुट्टेदार फरिया, पटुका र शरीरभरि अनेक आभूषण लगाई मध्ययुगीन राजकुमारीको भेषमा सिँगारी राजा र रानीको प्रतीकका रूपमा नचाउँछन्। राजा र रानीको पोसाक एकै किसिमको किन भन्ने प्रश्न अनुत्तरित नै छ। राजा परशुराम र रानी याम्फावतीको जीवन कथाको सांगीतिक व्याख्या घाटु गीतमा पाइन्छ। गीतको लय शास्त्रीय संगीतसँग मिल्दोजुल्दो हुन्छ। त्यसैले गीतको अर्र्थ नबुझ्नेलाई घाटु पट्यारलाग्दो पनि हुन सक्छ।

मानिसको जीवनशैली जन्म, शृंगार, बिहेवारी, सिकार, खेतीपाती, युद्ध आदिबारे गीतमा व्याख्या र नाचमा अभिनय गरिन्छ। जस्तो गीतबाटै विवाहका बारेमा राजाको विवाहका लागि आवश्यक पर्ने कपडा तथा अन्य सामान किन्न सुन र चाँदीका असर्फी लिएर केलादीपुर, बलापुर, तपेखान हटिया हुँदै श्रीरामुगंगा तरेर भागीरथी गंगाको किनारमा रहेको बजारमा पुग्छन्। विभिन्न दोकानमा घुमेर सामानको दरभाउ बुझेपछि लाल बानियाको कोठीमा सामानको मोलतोल गरी कपडा र अन्य सामान खरिद गरी फर्कन्छन्। 

राजदरबारमा विधिवत् विवाहको कार्यक्रम सुरु हुन्छ। राजा शिरमा झवरीको पगरी, लालय कम्बरी, गोलीघानय सुरुवाल, डोराय पछयौरा, खेमैघानय कपडामा सजिएर डनारीमा चढ्छन्। विभिन्न बाजा (छत्तीस बाजा, नगरा, भेगिभेगिये आदि) बजाउँदै हात्ती लावालस्करका साथ रतनपुर, बिजुलीपुर, रामपुर हुँदै राजाज्यूको वरियात रानीज्यूको पटांगिनीमा पुग्छ। उता रानी नुहाइधुवाइ गरी कुसुमको तेल कपालमा लगाई सुनको कायियोले कपाल कोरी नाकमा बेसुर, पाउमा पैजोर, गुनिया, चोलिया, पछयौरी, आँखामा गाजल, ओठमा लाली, ललाटमा टीका आदि लगाई आफ्नो भावी जीवनसाथीसहितको वरियतको प्रतीक्षामा रहन्छिन्।

विधिपूर्वक विवाह सम्पन्न भएपछि राजा रानीका साथ आफ्नो देश फर्कन्छन्। दरबारमा विधिपूर्वक बुहारीको स्वागतका साथ विवाह सम्पन्न हुन्छ। त्यसपछि पलुगिये खटियामा झिनुवाये बिछयौनामा राजारानी सुकला हुन्छन्। यम्फावती रानी गर्भवती हुन्छिन्। एक मास, दुई मास हुँदै दसौं महिनामा राजकुमार जन्मन्छ। ज्योतिषले उनको नाम बालकृष्ण राखिदिन्छन्। राज्यभरि हर्षबढाइँ तथा भोजभतेरका साथ सबैतिर खुसियाली मनाइन्छ। यसरी नै शृंगार सिकार खेल्ने, माछा मार्ने,  धान रोप्ने, त्रिबासा खेल्ने, युद्व आदि अध्यायहरू पनि पुरै गीतमै व्याख्या र अभिनय हुन्छ। 

घाटुको सुरुमा महादेवलाई हिमचुली, पार्वतीलाई वरचुली र विष्णुलाई देउचुलीका रूपमा सम्झेर आमन्त्रण गरिन्छ । घाटु मुख्यतः ३ प्रकारका हुन्छन्। (क) सती (ख) कुसुण्डा र (ग) बाह्रमासो। सती र कुसुण्डा घाटु झन्डै उस्तै हुन्। कुसुन्डा घाटुमा वनवास जाने थप अध्याय हुन्छ। कुनै ठाउँको कुसुन्डा घाटु देवी अङमा चढेर काम्ने पनि हुन्छ। जात र ठाउ अनुसार तालसुरमा केही अन्तर पाइन्छन्।

दुवै घाटु लाग्ने अर्थात् गीतबाटै स्वतः नाच्नेहरूको आँखा बन्द हुने, युद्धमा राजाको मृत्यु हँुदा नाच्दानाच्दै राजाको प्रतीकका रूपमा नाच्ने वाला ढल्ने, गीतबाटै ब्युँताउने हुन्छन्। बाह्रमासे घाटु लाग्दैन अथवा नाच्नेको आँखा स्वतः बन्द हुँदैनन्। सती घाटुभन्दा बाह्रमासे घाटु बढी सांगीतिक हुन्छ। किनकि यसमा मादल बजाइन्छ। यो आवश्यक पर्दा बाह्रैमास नाच्न मिल्छ त्यसैले यो घाटुलाई बाह्रमासे भनिएको हुनुपर्छ। सती घाटुमा राजाको युद्धमा मृत्यु हुन्छ र रानी सती जान्छिन् । बाह्रमासेमा राजा युद्ध जितेर फर्कन्छन्। सती र बाह्रमासे घाटुको मुख्य अन्तर यही हो। बाँकी कथावस्तु उही हुन्छन्। युद्वको अध्याय अलि विस्तारमा हेरूँ :

राजकुमार जन्मीएको खुसियालीको क्रम नसकिँदैमा अन्य विरोधी राज्याहरूले चारै दिशाबाट घेराबन्दी गर्न लागेपछि राजाले लडाइँ नगरी सुखै पाएनन्। ज्योतिषले बुधबारको दिन राम्रो साइत जुराई धनुष बाण, भाला बर्छा, तरबार, खुकुरी आदि लिई लडाइँमा जान देशवासीलाई राजाको हुकुम हुन्छ। बिजुली तरबार, लवणे ढालका साथ विजय प्राप्तिका लागि सबै देवीदेवताको पूजा गरी बछयौरी घोडा चढी लावालस्करका साथ युद्धको रणभूमिमा राजा प्रवेश गर्छ। विजय प्राप्त गर्दै चेपे, दोर्दी्, मस्र्याङदी, मिदिम, मादी, सेती, कालीगंगा तर्छन्।

रिसिङकोट, मुसिकोट, घिरिङकोट कास्कीकोट नुवाकोट, सातौकोट,  गह्रौकोट, तानसेनकोटलगायत राजाहरूसँग लडाइँ पर्छ। परशुराम राजाका विरुद्ध पहिला आफुसंग हारेका राजाहरू समेत एकजुट भै पर्वतको लोहांसुरको मैदानमा परशुराम राजालाई घेरामा पार्छन् र बुधवारको दिन वीरगति प्राप्त गर्छन्। युद्धको गीत गाइरहँदा घाटुसरीहरूले हातमा तरबारको प्रतीक जम्दार भन्ने काठको हतियार लिएर नाच्छन्। 

लडाइँ मच्चिँदै जाँदा राजाको भूमिकामा हुने घाटुसरी नाच्दानाच्दै ढल्पलिन सुरु गर्छ। रानी हुनेले आँसु झार्दै राजा हुनेको हात समाउँछ र ढल्नबाट रोक्न प्रयास गर्छिन्। युद्ध चर्किदै गएको गीतसँगै ढल्पलिने क्रम बढ्दै जान्छ र राजा लडाइँमा परेको गीत गाउनासाथ नाच्दानाच्दै आफ्नो शरीरको कुनै पर्वाह नगरी राजा बङलङै ढल्छ। केही समय होसमा हुँदैन। यतिबेला कतिपय आफन्त एवं दर्शकहरू धुरुधुरु रुन्छन् राजा युद्धमा पर्‍यो भनेर। यो क्रियालाई म्हो प्रेवा भनिन्छ। गीतैबाट ब्युँताउनुपर्दछ। बाँकी सेनाहरू हातहतियार एवं राजाको बछ्यौरी घोडाका साथ दरबार फर्कनछन्। राजा लडाइमा परेको खबर रानीले शुरुमा विश्वास गर्दिनन्। राजाको रगतले भिजेको झवारिको पगरी देखेपछि मात्र पत्याउँछिन्। 

सबैले सम्झाउँदा पनि मान्दिनन् र सती जाने अठोट गर्छिन्। सात तले नौतले बियार (दरबार) सुनको झारीलगायत सबै सम्पत्ति तथा  डेढ वर्षको बालकृष्णलाई दाया बायाको दुध खुवाई मामाहरूको जिम्मा लगाई सुनचांदी हिरामोती दान दक्षिणा गरी सती जान रानी बाबुआमा, दाजुभाइ, इष्टमित्र, साथीसँगी सबैसँग बिदा हुन्छिन्। 

कुकुर र बिरालो धुरुधुरु रुन थाल्दा दुध र भात खुवाउँछिन, जोली परेवा तथा बछयौरी घोडालाई झिनुवाको च्याहुरा र दाना दिन्छिन्। भ्यों भ्योये बाजा बजाई गंगाजमुना (मस्र्याङ्दी) को तीरैतीर रानी सती जान घाटतिर हिँड्छिन्। जमुनाको तीरमा लोकले धर्म काठ ल्याई एकै तले, दुवै तले गरी नौ तले सलिया उठाएर चिता बनाएको हुन्छ। 

सारा देवी देवताको पुजा गरी राजा परशुरामको रगत लागेको झवारीको पगरीका साथ रानी यम्फावती सती जान्छिन्। गोरखाको च्याङलीटार र तन्हु जिल्लाको डुम्रे देखि करीब ३ कि.मी उतर भन्सारको विचमा मस्र्याङ्दीको तीरको घाट जुन सतीघाटको नामले अहिले पनि प्रख्यात रहेको छ, त्यही नै यम्फावती रानी सती गएको ठाउँ हो भन्ने स्थानीयको भनाइ छ। यो अध्यायको गीत र अभिनय ज्यादै हृदयविदारक हुन्छ। तीन दिनसम्म गाउने घाटु गीतका केही उदाहरण:

प्रारम्भ पूजाको तयारी
१. लिपन हो रे भैया लिपन हो रे ,माली गाईको गोबरले लिपैला । 
२. लिपन हो रे भैया लिपन हो रे,सातै मुलको पानीले लिपैला। 
३. हिमचुलीको देवता आवैला,हामराए बालिका कन्याको शिरैमा वैसेला। 
यसरी वरचुली..देउचुली...क्रमशः
 

विवाह 
४. आजुर दिन राजैजिउ ए वरियात चलैला,वरियात अघि अघि उनन्तिस सय बाजा बजैला। 
जन्तीको तयारी देखि क्रमश...
 

शृंगार
काज्योली रानीको शिरैमा सिंदुर लालै बस्यो। क्या क्या लाग्यो बैंस कांज्योली रानीको शिरैमा सिन्दूर लालै बस्यो।
यसरी सबै गहनाहरू तथा पहिरान क्रमश...
वन बास
५. जोगीमा जोगी पाहुनै जोगी,हातैमा लठी कांधैमा झोली भिखै मागैला......
६. उतरैबाट आयो जोगी हातै तुम्बाला,कुहिनामा झोली कुहिनामा झोली,भीखै मागन आयो।

सिकार खेल्न
७. सीतारानीए फूलैबारीमा मिरिगय बगाल, छेकीमा लेओ लछिमन भैया, राजैजिउमा मृग छेकी थुनी लेओ। 
ऐरी कुकुर.विभिन्न.हतीयार...विभिन्न जंगल.विभिन्न पशुपन्छीहरू....क्रमशः 

माछा मार्ने
८. छेकीमा लेउ जालरी भैया...थुनीमा लेउ जालारी भैया...मादी खोलैय तीरै तीर मछेडी मारन जाऊ।
यसरी सबै नदी नालाहरू क्रमशः...
युद्वमा जाँदा– 
९. राजैज्यूया हाती घोडा साइतै सार्‍यो,राजैज्यू या सुनै विरालु साइतै सार्‍यो।
विभिन्न हतीयार..ढाल तरबार... लावालस्कर क्रमशः
सतीको तयारी–
१०. आम्बावती रानीको केशै फुकाइदे, रानीज्यूको गलेको पोते छिनालिदे। रानीज्यूको हातैको चुरा...
११. उठमा उठ पॉचै लोक, उठमा उठ नरै लोक, धरम् काठै लेउ जमुनाको तीरमा पुर्‍याइदे। 
सबैसँग बिदा भै... दानदक्षिण क्रमशः 

घाटु नाच्नेलाई घाटुसरी र निवर्तमान ... घाटुसरीहरूलाई सुसारे (ससारे) भनिन्छ। गीत गाउनेहरूलाई गुरुहरू भनिन्छ र गीत गाउने नेतृत्व एकजनाले लिएको हुन्छ जसलाई मुख्य गुरुको रुपमा ससम्मान राखिन्छ। मुख्य गुरुको छनोट मर्यादाक्रम एवं क्षमताका आधारमा स्वाभाविक रूपमा हुन्छ। गीत कही महिलाहरूले मात्र गाउँछन्, कही पुरुषले मात्र गाउने चलन छ भने कही महिला पुरुष संयुक्त रूपमा गाउँछन्। घाटु नाच्न बनाइने मञ्च वा छाप्रोलाई ‘थर्कु’ भनिन्छ। यो भकारी, चित्रा तथा त्रिपाल आदिबाट अस्थायी रूपमा बनाइन्छ।

आजभोलि स्थायी रुपमा निर्मित सामुदायिक भवनहरूमा नाच्ने चलन पनि छ। चण्डी पूर्णिमाको दुई दिनअगाडि समाजका सम्बन्धित सबै भेला भै आवश्यक सुव्यवस्थाका लागि सरसल्लाह गर्छन् र थर्कु निर्माण, दर खानको लागि दुध संकलन, विभिन्न फूल (बेलपत्र अनिवार्य) संकलन लगायत अन्य आवश्यक तयारीको लागि आपसमा कार्य विभाजन गर्छन् र भोलिपल्ट साँझ रक्सी, खिर र मासु आदिुको व्यवस्था गरी सम्बन्धित सबै रोधी तथा तोकिएको घरमा तथा थर्कुमा भेला भई सामूहिक भोज खान्छन्। केही वर्षयता रोधीको प्रचलन हराउँदै गएको हुँदा सो कार्य आमा समूहहरूबाट हुने गरेका पनि छन्। यो भोजलाई दर खाने भनिन्छ। नाच्नेहरू र प्रमुख गुरुले दर खाएपछि भोलि पल्ट पूर्णिमाको साझ तारा नउदाए सम्म भात खाँदैनन्।

घाटु नाच्दा सुसारेहरू नजिकै बसी नाच्नेहरूलाई सहयोग र निर्देशन गर्दछन्। निवर्तमान घाटु सरीहरू सुसारेको भूमिकामा हुन्छन्। घाटुसरीहरू अत्यन्तै अनुशासित हुनुपर्दछ। उनीहरू बोल्न, हाँस्न, हेर्नबाट वञ्चित हुन्छन्। दिसा, पिसाब तथा अन्य समस्या आयो भने गीत गाउँदा पनि ननाची उभिरहन्छ। यसो भयो भने केही समस्या आयो भन्ने बुझेर सुसारले गोप्य रुपमा सोध्छ र सोहीअनुसार समस्या समाधान गर्दछ। सती घाटुमा यस्तो समस्या आयो भने नाच्ने ठाउँ छाडेर नाकले पानी ताने पछि घाटु लागेको छोड्छ।

पछि आउँदा नाच्ने ठाउमा टेक्न साथ गुरुले अछेता छर्केपछि पूर्ववत् रूपमा घाटु लागि हाल्छ। गीतको सन्दर्भमा आउने विविध वस्तुको नमुनाजस्तो घोडा, धनुषकाड, काइँयो, त्रिबासा, ढघिया आदि बनाउछन् र तत् सम्बन्धी गीत गाउदा घाटुसरीहरूले सोही अनुसारको सामाग्री लिइ अभिनय गर्छन्। घाटु सञ्चालन तथा व्यवस्थापन गर्न युवा र युवतीहरूले आफूमध्येबाट समिति बनाउने चलन पनि छ।

समितिका मानिसहरू बढी क्रियाशील हुन्छन् र यिनीहरूको निर्देशन सबैले पालना गर्नुपर्दछ भन्ने परम्परा छ। यो उपसमितिको नाम ठोक्ने भनिन्छ। ठोकेर भए पनि अनुशासन कायम गराउने हुनाले यो समितिको नाम यस्तो रहन गएको हुन सक्छ। अन्य गाउका मानिसहरूलाई घाटु हेर्न आउनका लागि न्यूनतम एक जना युवा र एक जना युवती रक्सी पुङ (रक्सी राख्ने काठको भाँडो) लिएर सम्बन्धित गाउँमा लिन जान्छन्।

आमन्त्रित अतिथिहरूलाई खानपान समेत विशेष सम्मान गर्नुपर्दछ। हेर्न आउनेहरूले नगद दान दिएर जान्छन्। अर्को पटक साबिक गाउले घाटु हेर्न जाँदा पहिला दिई राखेको दानमा केही थप गरी दान दिने चलनछ। यो अलिखित पालोपैंचो हो भन्न सकिन्छ। एक पटक घाटुसरी बनाए पछि ३ वा ५ वर्ष सम्म तिनैलाई नचाउने चलन छ। नाचको क्रममा राजा शिकार खेल्ने अध्याय आउँदा २, ४ जना हांस्यका योगीको रुपमा गिठा, भ्यकुर आदिको अनेक गरगहना लगाई झुत्रे पहिरन गरी अनेक अभिव्यक्ति र अभिनय गरी सबैलाई हसाउने, खरानीको टीका तथा पाती लगाई दिई पैसा माग्छन्।

यो अध्याय ज्यादै रोचक हुन्छ। यसपछि घाटु समाप्त नभएसम्म बेला बखत यिनीहरू देखा परिरहन्छन्। प्रमुख गुरुको मृत्यु भएको वर्ष शोक मनाउन प्रायः घाटु नाच्दैनन्। सती घाटु समापनका लागि सम्भव भएसम्म गीत गाउँदैनाच्दै चण्डी (घाटु समापनको लागि बनाइएको एक प्रकारको देउराली) पुर्‍याई नाचका क्रममा प्रयोग गरिएका नमुना सामानहरू क्रमशः चण्डीमा चढाई समापन गर्दछन्। यसक्रममा गाईको गोबर र दूधबाट चण्डीमा कुण्डली बनाई घाटुसरीहरूलाई नाच्दै गीतको तालमा गाउँघर एवं देश दुनियाँको शुभअशुभ, समय परिस्थिति हेर्न लगाउँछन्। सुसारेहरूले पटक पटक गोप्य रुपमा के के देख्यो सोध्छन् र आवश्यकताअनुसार सार्वजनिक जानकारी गराउँछन्।

एकदमै उज्यालो देखिए समयअनुकूल हुने बादल लागेको तथा आधेरो देखेमा समय प्रतिकूल हुन्छ भन्ने विश्वास गर्छन्। कुण्डली हेर्दा कहिले काही व्यक्ति विशेषको बारेमा पनि राम्रो नराम्रो कुराहरू आउँछन् तर सम्बन्धित परिवारलाई चिन्ता पर्छ भनेर नराम्रा कुराहरू गोप्य राखेर अप्रत्यक्ष रूपमा मात्रै जानकारी गराउँछन्। फलनालाई त रगतको पोखरीमा वा अन्य प्रतिकूल अवस्थामा देख्यो रे भनेका व्यक्तिहरूको सोही वर्ष मृत्यु भइदिनाले बढी विश्वास हुन गएको हो भन्नेहरू पनि छन्। समयमै जानकारी पाउनेहरूले आ–आफ्नो धर्म र विधिअनुसार रखवारी गर्ने चलन पनि छ। समापनको अन्त्यमा घाटुसरीहरूसँग कुखुरा पुछेर फाल्ने चलन छ। यसो गर्नाले सबै कुदृष्टिहरू नास हुने र कुनै अप्रिय घटना नघट्ने जनविश्वास छ। बाह्रमासे घाटु थर्कुमै तथा नाच्ने ठाउँमै समापन गरिन्छ।

गाउँले तथा आफन्तहरूले नाच्ने गाउनेहरूलाई रिपु (बेसारले रंगाएको काँचोधागो) लगाई दिई रक्सी वा दुधले टोसी एवं सम्मान गर्छन्। चण्डी पूर्णिमामा यो नाचको अवधि करिब तीन दिनको हुन्छ। उपस्थित दर्शकहरूबाट प्राप्त दान रकम खर्च कटाई बाँकी रहेको रकम रॉगो वा खसी आदि काटेर भोज खान्छन् जस्लाई खवाई खाने भनिन्छ। कहीँकहीँ दान दिनेहरूले नाच्ने गाउने.भान्छे.जोगी तथा समाजलाई भाग छुट्याएरै दान दिने चलन पनि छ। नाच्ने गाउने तथा भान्छेहरूले समाजले पाएको भागको अतिरिक्त भाग पाउँछन्। 

विभिन्न वैकल्पिक मनोरञ्जनका साधानहरू तथा समाजको आधुनिकीकरणका कारण नयाँ पुस्ताको घाटुप्रतिको आकर्षण घट्दो हुनाले घाटुको मौलिकपन नमेटिने गरी समयसापेक्ष सुधार नगर्ने हो भने यसको संरक्षण र संवर्धनमा समस्या आउन सक्ने सम्भावना बढ्दो छ। 

अनेकतामा एकता नेपालको विशेषता हो। मेचीदेखि महाकालीसम्म तथा हिमालदेखि तराईसम्म बसोबास गर्ने विभिन्न आदिवासी जनजातिका आ–आफ्नै भाषा, भेष एवं सांस्कृतिक परम्परा छन्। यी हाम्रा पहिचान एवं राष्ट्रिय सम्पत्ति हुन्। त्यसैले घाटु, लाखे, बालुन, देउडा, धान नाच, साकेला नाचजस्ता युगौं पुरानो र लोपोन्मुख सांंस्कृतिक परम्पराहरूको संरक्षण र संवर्धन गर्नु राज्या समेत हामी सम्बन्धित सरोकारवाला सबैको कर्तव्य हो।

हाम्रा श्रद्वेय पुर्खाहरूले हामीलाई सुम्पनुभएको यो सांस्कृतिक सम्पतिहरूको संरक्षण र संवर्धन गर्न सकेनौ भने हाम्रा पुर्खाहरूको आत्माले हामीलाई आशीर्वाद दिनुको सट्टा श्राप दिनेछन् त्यसैले समयमै सक्रिया र सतर्क हुन सम्बन्धित सबैमा हार्दिक अग्रह गर्दछु। 

(लमजुङको मस्र्याङ्दी–४ शिल्ढुंगा निवासी लेखक पूर्वसांसद पनि हुन्)

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, वैशाख २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्