संखुवासभा हेलिकप्टर दुर्घटना : तीनजना घाइतेकाे अवस्था गम्भीर
हेलिकप्टरमै सवार छिरिङ भोटे भने सकुशल रहेको वडाध्यक्ष तामाङले बताए। छिरिङका अनुसार पंखा पहाडको भित्तामा ठोक्किएर हेलिकप्टरको दुर्घटनामा भएको हाे।
काठमाडौं, वैशाख २२ : संखुवासभाको भोटखोला गाउँपालिका-४ हम्मरेडाँडामा हेलिकप्टर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।
घाइतेको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, स्थानीय भविन गुरुङ र अर्का एक जना गम्भीर घाइते भएको भोटखोला–४ का वडाअध्यक्ष विकास तामाङले जानकारी दिए। पाइलट पौडेलको टाउकोमा चोट लागे पनि उनी बोल्न सक्ने अवस्थामा भने रहेको बताइएको छ।
घाइते तीनै जनालाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको जनाइएको छ। हेलिकप्टरमै सवार छिरिङ भोटे र अर्का एकजनाकाे अवस्था भने सामान्य रहेको वडाध्यक्ष तामाङले बताए। छिरिङका अनुसार अवतरणका क्रममा पंखा पहाडको भित्तामा ठोक्किएर हेलिकप्टरको दुर्घटनामा भएको हाे।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्। संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो।
हेलिकप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानीमा खटिएको थियो।











