व्यवसायी कँडेल आत्महत्या प्रकरण : चार्टर्ड एकाउन्टेन्ट रावल पक्राउ, सञ्चालक रुंगाटा फरार
भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
चितवन, वैशाख २२ : व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन्।
भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। राति नै उनलाई चितवन ल्याइएको छ। आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए।
भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो। कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरे। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् ।
रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए।
कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए।











