Kathmandu Press

सेती अस्पतालमा काेरोना र डेंङ्गुबाट सङ्क्रमित युवकको मृत्यु

अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए।
सेती अस्पतालमा काेरोना र डेंङ्गुबाट सङ्क्रमित युवकको मृत्यु

धनगढी, वैशाख २१ : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ।

अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए।
 
नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते  पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो।

त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए। युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ।
 
यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो। सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ।

सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो।
 
खासगरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ।कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एकवर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो। सङ्क्रमण पुनःबढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ।

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्