Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई अदालतमा पेस गरियाे

आज (बिहीबार) बिहान भैरहवाबाट हवाई यातायातबाट काठमाडौं ल्याएर उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई अदालतमा पेस गरियाे

काठमाडौं, वैशाख २१ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ। उनी बुधबार बेलुका रुपन्देहीमा पक्राउ परेका थिए।

आज (बिहीबार) बिहान भैरहवाबाट हवाई यातायातबाट काठमाडौं ल्याएर उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ। सन्दीप एमाले सचिव एवं अर्घाखाँची १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा हुन्। जिल्ला अदालतले बुधबार टोपबहादुर र सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सन्दीप पक्राउ परे पनि टोपबहादुर अहिलेसम्म पक्राउ परेका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको  छ।बुधबार अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर टोपबहादुर बेलुकी बुटवल आएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्। बादलका छोरा प्रतीकविरुद्ध पनि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन्।

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्