नक्कली भुटानी शरणार्थी बन्न रकम बुझाउनेमाथि पनि कारबाही हुनुपर्छ : सूर्य थापा
नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा राखेर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आशंकामा प्रहरीले उच्च ओहोदामा रहेका लगायत विभिन्न व्यक्तिलाई पक्राउ गरिरहेका बेला उनले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
काठमाडौं, वैशाख २१ : एमाले नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा राखेर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आशंकामा प्रहरीले उच्च ओहोदामा रहेका लगायत विभिन्न व्यक्तिलाई पक्राउ गरिरहेका बेला उनले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।
नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने काम गैरकानुनी भएको उनको भनाइ छ। त्यसकारण त्यसमा संलग्नलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्नेमा उनले जोड दिएका हुन्।
‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जोकोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘साथै नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता थापाले यो घटनामा कसैको मुख हेर्न नहुने र गैरकानुनी काम गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताएका छन्। ‘गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन् । यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनुहुँदैन,’ उनले फेसबुकमा लेखेका छन्।
उनले अगाडि भनेका छन्, ‘नेपाली भईकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ। अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनुपर्छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरेको छ। त्यस्तै नेता रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।











-1784808429.png)