देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री
प्रधानमन्त्री दहालले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताउँदै समष्टिगत आर्थिक परिसूचक सकारात्मक भएको उल्लेख गरे।
काठमाडौं, वैशाख २० : प्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन्।
बुधबार आज साँझ पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए।
‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ। त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो। संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए,’ उनले भने, ‘मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन। संघीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो। तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो।’
प्रधानमन्त्री दहालले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताउँदै समष्टिगत आर्थिक परिसूचक सकारात्मक भएको उल्लेख गरे। विदेशी मुद्राको सञ्चिति उत्साहजनक भएको बताउँदै उनले अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदै गएको बताए।











-1784808429.png)