Kathmandu Press

सुडानमा रहेका ८ नेपाली आज र बाँकी पाँच जना भोलि आइपुग्ने

नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी रहेको छ।
सुडानमा रहेका ८ नेपाली आज र बाँकी पाँच जना भोलि आइपुग्ने

काठमाडाैं, वैशाख २० : नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ।

यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट यही वैशाख १७ मा जेद्दा सहर पुर्‍याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जेद्दा पुगेका १९ जनामध्ये छ जना नेपाली नागरिक हिजो मङ्गलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन्। नेपाल फर्कन प्रतीक्षारत १३ जना नेपाली नागरिकमध्ये ८ जना आज एयर अरबियाको उडानबाट काठमाडौं आइपुग्ने र बाँकी पाँच जना भोलि बिहीबार जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी रहेको छ। बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षितरुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु दुई जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सिमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्