Kathmandu Press

विचाराधीन सञ्चारसँगसम्बन्धित विधेयकका सम्बन्धमा छलफल गर्न प्रतिबद्ध छु : सभामुख

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा शुुभकामना व्यक्त गर्दै उनले विधेयकलाई प्रभावकारी बनाउन र प्रेसमैत्री कानुन निर्माण गर्न छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
विचाराधीन सञ्चारसँगसम्बन्धित विधेयकका सम्बन्धमा छलफल गर्न प्रतिबद्ध छु : सभामुख

काठमाडाैं, वैशाख २० ः सभामुख देवराज घिमिरेले संसद्मा विचाराधिन सञ्चारसँग सम्बन्धित विधेयकका सम्बन्धमा प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर सङ्घ संस्था र सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा शुुभकामना व्यक्त गर्दै उनले विधेयकलाई प्रभावकारी बनाउन र प्रेसमैत्री कानुन निर्माण गर्न छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

'नेपाली प्रेसलाई अझै व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनका लागि संसद्मा सञ्चारसँग सम्बन्धित विधेयक विचाराधिन अवस्थामा छन्, तिनलाई प्रभावकारी बनाउन, प्रेसमैत्री कानुन निर्माण गर्न संसद्ले प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर सङ्घ संस्था र सरोकारवाला पक्षहरूसँग छलफल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु', सभामुख घिमिरेले भनेका छन्। 

प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारकर्मी र आमसञ्चार माध्यमका लागि मात्र नभइ आम नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै उहाँले लोकतन्त्रमा प्रेसमाथि कुनै पनि बन्देज स्वीकार्य नहुने र प्रेस स्वतन्त्रतालाई अभिव्यक्तिगत स्वतन्त्रताको अंशकारूपमा लिनुपर्नेमा जोड दिनुभएको छ।

नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रेसको भूमिका बिर्सनै नसकिने चर्चा गर्दै सभामुख घिमिरेले राज्यका तीनवटै अङ्गलाई समेत खबरदारी गर्ने भएकाले लोकतान्त्रिक मुलुकले प्रेसलाई चौँथो अङ्गको रूपमा स्वीकार गर्दै आएको प्रस्ट पार्नुभएको छ।

नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रूपमा नै सुनिश्चित गरिएकाले  नेपालको संविधान २०७२ को भाग ३ मा प्रेस तथा सञ्चारसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ भने धारा १७ मा स्वतन्त्रताको हकअन्तर्गत प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ।

धारा १९ मा सञ्चारको हकसम्बन्धी छुट्टै व्यवस्था छ। प्रेस स्वतन्त्रतालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन र नियमावलीसमेत कार्यान्वयनमा आएको  छ। यो वर्षका लागि युनेस्कोले 'भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता' भन्ने नारा तय गरेको छ। 

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, वैशाख २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्