दार्चुला हिमपहिरो: बेपत्ताको पहिचान खुल्यो, हिमपात नरोकिँदा उद्धार हुन सकेन
दार्चुलामा गएको हिमपहिरोमा परि बेपत्ता भएका दुई आमाछोरासहित पाँचजनाको पहिचान भएको छ । तर, हिमपहिरो नरोकिँदा उद्धार कार्य सुरु हुन सकेको छैन ।
दार्चुला, वैशाख २०ः दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँचजना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका आमाछोरा ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । यस्तै, डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् ।
गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताएका छन् । 'रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौं,' उनले भने, 'हिमपात रोकिएपछि घटनास्थलमा जाने तयारीमा छौं ।'
मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घटनास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो सोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो ।
त्रिपाल पुरिनु अघि भागेर ज्यान जोगाएका २० जना संकलकलाई सशस्त्र प्रहरीले आफूसँगै ल्याएर सुरक्षित स्थानमा राखेको छ । वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ । संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए ।











-(86)-1764936079.jpg)
