गगन थापाले भने– अहिले रुवाबासी गर्ने बेला होइन, पाएको जिम्मेवारी पूरा गर्ने समय हो
उनले जो जहाँ छौं त्यहीं राम्रो काम गर्नुपर्छ भन्दै पार्टीका नेताहरूले अर्को पटक मौका पाउँला/नपाउँला भनेर चिन्ता गर्नुभन्दा पनि अहिले पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौं भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिए।
काठामडौं, वैशाख १८ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन्।
भक्तपुरमा एक कार्यक्रममा उनले पार्टीका नेता, कार्यकर्ताले कांग्रेसको भविष्यबारे चिन्ता गर्नेभन्दा पनि पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्ने बेला आएको बताए ।
‘आम निर्वाचन आउन बाँकी चार वर्षमा कांग्रेसले पाएका केन्द्रीय मन्त्रालय, प्रदेश सरकार र जितेका पालिका तथा वडामा परिणाम आउने गरी काम गरेर जनताको मन जित्न सक्नुपर्छ’, महामन्त्री थापाले भने, ‘उपनिर्वाचनको परिणामले पार्टीको अवस्था के होला भनेर चिन्ता गर्ने होइन कि सरकार यसरी पो चलाउनुपर्छ भन्ने हिम्मत बटुल्नुपर्छ।’
उनले जो जहाँ छौं त्यहीं राम्रो काम गर्नुपर्छ भन्दै पार्टीका नेताहरूले अर्को पटक मौका पाउँला/नपाउँला भनेर चिन्ता गर्नुभन्दा पनि अहिले पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौं भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिए।
‘अहिलेको आर्थिक संकटको बेला गजबसँग अर्थ मन्त्रालय चलाएर देखाउन सक्नुपर्छ, कांग्रेसले अहिले नेतृत्व गरेको हजारौं वडा छन्, केन्द्रको सरकार छ, सातवटा प्रदेशको सरकारमा कहीं सहभागी भएका छौं, कहीं नेतृत्व गरिरहेको छौं, तिनमा अझै चार वर्षको समय छ । त्यहाँ प्रतिबद्ध भएर काम गरौं’, महामन्त्री थापाले भने।
परिणाम देखाउने गरी सुशासनका साथ काम गरौँ रुवाबासी गर्नै पर्दैन भन्दै उनले हामी कहाँनिर चुक्यौं सच्याउनका लागि पार्टीमा छलफल, समीक्षा र आत्ममूल्याङ्कन गरिरहेको बताए।











-1784808429.png)