संसद सचिवालयलाई प्रहरीको जनाउ : सांसद काेइरी फरार
सचिवालय स्रोतका अनुसार सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर पत्र लेखिएको छ। यसअघि २०७९ साल पुस ७ गते पनि प्रहरीले सांसद कोइरी फरार रहेको सूचना संसद सचिवालयका महासचिवलाई पत्र लेखेर जानकारी दिएको थियो।
काठमाडौं, वैशाख १८ : नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको जनाउ प्रहरीले संसद सचिवालयलाई दिएको छ।
प्रहरीले यसअघि पनि संसद सचिवालयलाई कोइरी फरार रहेको जानकारी दिएको थियो। दोस्रोपल्ट पनि पत्र लेख्दै प्रहरीले पक्राउमा सहयोग गर्न भनेको छ।
सचिवालय स्रोतका अनुसार सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर पत्र लेखिएको छ। यसअघि २०७९ साल पुस ७ गते पनि प्रहरीले सांसद कोइरी फरार रहेको सूचना संसद सचिवालयका महासचिवलाई पत्र लेखेर जानकारी दिएको थियो।
सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते मधेश आन्दोलनकाक्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हालेर हत्या गरेको गम्भीर आरोप छ। कोइरीलाई उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको छ।
गत वैशाख १५ गतेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले फरार सांसद कोइरीले अस्वस्थ रहेको भन्दै पठाएको पत्रलाई समावेश गरेर बिदा स्वीकृत भएको घोषणा गरेपछि विवादको रुप लिएको थियो। सत्तापक्षका सांसदहरूले बैठकमा चर्को विरोध जनाएपछि सभामुख घिमिरे पछि हटेका थिए।
गत चैत १९ गते पारित भएको प्रतिनिधि सभाको नियमावलीमा थुनामा बस्नुपर्ने सांसदका लागि अधिकारमाथि बन्देजको प्रावधान राखिएको छ। नियमावलीको व्यवस्था अनुसार सांसद कोइरी स्वतः निलम्बनमा पर्ने अबस्था छ।
नियम २४८ को उपनियम ३ मा ‘अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ,’ भन्ने व्यवस्था छ।











-1784808429.png)