देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए।
गैंडाकोट, वैशाख १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए।
उनले भने, 'निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ।' आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उनले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताए। उनले भने, 'त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो।'
सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अफ्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै उनले परिणाम न निस्किँदासम्म आफूले धेरै कुरा भन्न नमिल्ने बताए। उनले भने, 'मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निरासा बाँड्ने काम रोक्नुपर्छ।' सरकारले विद्यार्थी भर्ना हुनुअघि विकट गाउँसम्म पुस्तक पु¥याएको, राहधानी र लाइसेन्समा सहजीकरण गरेको उनले जानकारी दिए।
विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उनले बताए। पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उनले अझ बढाउने तयारीमा सरकार रहेको बताए। उनले भने, 'राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ।'
बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उनले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताए। उनले भने, 'गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्ण हुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईहरुको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ।'
नेपाल अहिले पनि आर्थिक दबाबमा रहेको जनाउँदै उनले क्रमिक सुधार आउने र लय समात्ने विश्वास आफूले लिएको बताए। अप्ठ्यारो परिस्थितिमा नै जोखिम उठाएर विकास परियोजनालाई अघि बढाउने आँट केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेको भन्दै उनले सातै प्रदेशमा एउटा–एउटा पर्यटकीय क्षेत्रमा केबलकार पुर्याउने उनको योजनाको प्रशंसा गरे। मौलाकालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिकस्थल भएको भन्दै प्रधानमन्त्री दाहालले तीन जिल्लाको सङ्गमका रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबैतिर फैलने बताए।
उनले धार्मिक, संस्कृति पर्यटन प्रवद्र्धनका दृष्टिकोणले र ऐतिहासिक सांस्कृतिक सम्पदालाई जनताको आवश्यकतासँग जनताको जीवन र सम्बृद्धिको आकक्षासँग जोड्ने परियोजनाका रुपमा यसलाई आफूले लिएको बताए। यी परियोजना निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको राम्रो उदाहारण भएको उनले बताए।
मौलाकालीकाको ऐतिहासिक र धार्मिक महत्वको चर्चा गर्दै उनले भने, 'आज केबलकारको उद्घाटन गर्दैगर्दा यो क्षेत्र देशभरिका लागि एक पटक जाउँ जाउँ भन्ने क्षेत्र हुन पुग्यो, यो कार्यक्रम सुनिराख्नुभएका र हेरी राख्नुभएका दाजुभाइ दिदीबहिनी एक चोटी मौलाकालिका जानै पर्छ।' यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो। चितवनतर्फ मात्र नभएर नवलपरासीतर्फ पनि नारायणी नदीको तटिय क्षेत्रमा तटबन्धनको गृहकार्य अघि बढेको उनले जानकारी दिए।











-1784808429.png)