उपचार गराएर स्वदेश फर्किए कांग्रेस नेता चन्द्र भण्डारी
आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके आमाका लागि श्रद्धाञ्जली हुने सांसद भण्डारीले बताएका छन्।
काठमाडाैं, वैशाख १७ : कांग्रेस नेता चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन्।
घरमा ग्यास लिक भएर आगलागीमा गम्भीर घाइते भएका भण्डारी साढे २ दुई महिनापछि भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका हुन्।
उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके आमाका लागि श्रद्धाञ्जली हुने सांसद भण्डारीले बताएका छन्।
३ फागुन २०७९ मा घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो ।
उनले अब नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने घोषणा पनि गरेका छन् । ‘त्यसैले मेरो अभियान हुनेछ, कुनै नेपालीले आगोमा जल्नुनपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भण्डारीले स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा भनेका छन् ।
विदेशमा उपचार गर्न जाने आफ्नो चाहना नभएको तर चिकित्सकहरुले यहाँ सम्भव नहुने देखेर भारत लैजान सिफारिस गरेको भन्दै भण्डारीले आगामी दिनमा आगलागीमा परेका नेपालीको उपचार गर्न सक्ने पूर्वाधार र जनशक्ति नेपालमै तयार गर्नुपर्ने बताए।











-1784808429.png)