Kathmandu Press

राजु स्याङतानको ‘ओ पेङदोर्जे’ सार्वजनिक

आफुसँग कुनैसमय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक गरेका थिए।
राजु स्याङतानको ‘ओ पेङदोर्जे’ सार्वजनिक

काठमाडौं, वैशाख १६ : पछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ।

आफुसँग कुनैसमय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक गरेका थिए। द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन्।

पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि वक्ताहरुले कुनै समय हतियार बोकेर समाज रुपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गरे।

Hardik ivf

‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ पुस्तकमा अटाएको कविताबारे टिप्पणीगर्दै समीक्षक हरि शर्माले भने, ‘परिणाममा बजार, समाज र पूँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्वित भएको छ।’

एकठाउँ कविले अफगानिस्तानको राजधानीको सन्दर्भ उल्लेख गर्दै शर्माले कुनै कविको कल्पनाशीलता यस रुपमा पाउँदा आश्चर्यसमेत प्रकट गरे। यसरी विम्ब र प्रतिविम्ब प्रयोग गर्दै कल्पनाहरुलाई सशक्त ढंगले उभ्याउने राजुलाई आफुले समग्रमा भने यथार्थवादी कविका रुपमा पाएको शर्माले बताए ।

कार्यक्रममा नयाँ पुस्ताका कवि राजुका बारेमा अघिल्ला पुस्ताका कवि श्रवण मुकारुङले चिनारी प्रस्तुत गरेका थिए। ‘मैले नछुटाईकन पढ्ने अहिलेका कविहरु माझ राजुको कविता पढ्ने गरेको छु,’ मुकारुङले भने, ‘राजु उनको परिवेशलाई आम पाठकको मर्ममा छोएर प्रस्तुत गर्न प्रखर देखिएका छन्।’

त्यस अवसरमा राजुले पुस्तकमा अटाएका दुइवटा कविता वाचन गरेर सुनाएका थिए।

समारोहमा भौतिक पुस्तक मात्र नभइ यसका ‘इबुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक भएको घोषणा गरिएको थियो। पछिल्लो समय प्रचलनमा आएको पुस्तकका यी नवीन स्वरुपहरु भने इन्टरनेटमा थुप्रै डट कमको एप्स मार्फत् कसरी सजिलै खरिद गर्न सकिन्छ भनेर जानकारी पनि गराइएको थियो । पुस्तकको ‘अडियो बुक’ खरिद गर्नेले राजुको स्वरमा वाचन गरिएको कविताको साथमा संगीतकार आभासले तयार पारेर मिसाएको धुनको आनन्द पनि लिनसक्ने छन्।

यस कविता संग्रहमा छ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।

एक सय ५१ पृष्ठको यो कविता संग्रह शनिबारबाटै सबैजसो प्रमुख पुस्तक पसलहरुमा उपलब्ध भएको जानकारी पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले दिइन्। मास्केका अनुसार यस किताबलाई संसारभरका पाठकले अमेजन मार्फत् पनि खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, वैशाख १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्