Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १९ गते विश्वासको मत लिने

५३ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १९ गते विश्वासको मत लिने

दाङ, वैशाख १७ : लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्सि (वैशाख १९ गते मंगलबार) विश्वासको मत लिने भएका छन्।

त्यसका लागि प्रदेश सभाको बैठक मंगलबार बिहान ११ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।शुक्रबार पदभार ग्रहणपछि देउखुरीमा बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने निर्णय गरे पनि १९ गते आइतबार बिहान मात्रै विश्वासको प्रस्ताव दर्ता भएकाले मंगलबार बैठक आह्वान गरिएको प्रदेश सचिवालयले बताए। विश्वासको प्रस्तावका लागि मुख्यमन्त्रीले ४८ घण्टा अगाडि नै सचिवालयमा सूचना दिनुपर्ने व्यवस्था छ।

५३ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १/१ जना र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन छ ।

त्यहाँ माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विनाविभागीय मन्त्री बनिसकेका छन्।

 

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, वैशाख १७, २०८०