Kathmandu Press

एसएसपीमा बढुवा नभएपछि एसपी आभूषण तिम्सिनाले दिए राजीनामा

उनले सामाजिक सञ्जालमा लामो स्टाटसलेखेर आफूले राजीनामा दिने निर्णय गर्नुको कारण उल्लेख गरेका छन् र नेपाल प्रहरीबाट अलग्गिने निर्णय गरेको बताएका छन्।
एसएसपीमा बढुवा नभएपछि एसपी आभूषण तिम्सिनाले दिए राजीनामा

काठमाडौं, वैशाख १७ : एसएसपीमा बढुवा नभएपछि एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर आफूले राजीनामा दिने निर्णय गर्नुको कारण उल्लेख गरेका छन् र नेपाल प्रहरीबाट अलग्गिने निर्णय गरेको जानकारी दिएका छन्।

‘मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा ममा देशप्रतिको जुन अगाध निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो, त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरुसँगै सेवा प्रवेश गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर आज मिति २०८० साल वैशाख १७ गतेबाट म मैले लगभग २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा नेपाल प्रहरीजस्तो जनस्तरसम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलग्गिने निर्णय गरेको छु।’

सरकारले गएको शुक्रबार नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस ग गर्दा  तिम्सिना परेनन्। एसएसपीमा बढुवाका लागि सिफारिसमा नपरेपछि उनले राजीनामा दिएका हुन्। नेपालमा प्रहरीमा रहँदा पटकपटक आफूमाथि अन्याय भएको उनले बताएका छन्।  ‘मैले जागिरे जीवनमा केकस्ता अन्याय सहनुपर्‍यो भन्ने कुरा म क्रमशः मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यही सार्वजनिक मञ्चमार्फत राख्नेछु।’

प्रहरी उपरीक्षक आभुषण तिम्सिना २०५६ असार ३ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म कार्यरत रहँदै आएका थिए।

संविधानको मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानुनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरु थिचिएको आशय उनले व्यक्त गरेका छन्। 

‘पदबाट राजीनामा दिएर अलगिएको आजैका मितिबाट म सार्वभौम र कानूनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रुपान्तरित भएकोमा गौरवान्बित महसुस गरेको छु,’ उनले लेखेका छन्, ‘म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रुपमा दरिने आधारभुत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरवानुभूति भइरहेछ।’

अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रवृत्तिलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने विश्वव्पयापी धारणालाई गहिरिएर मनन गरेको पिन उनले बताएका छन्।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, वैशाख १७, २०८०